अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको अफगान सेनाको हवाई कारबाहीमा परी ३७ जना तालिवान आतंककारी मारिएका छन् ।
तालिवान लक्षित यो कारबाही पूर्वी प्रान्त लाघमान र उत्तरी प्रान्तहरु बादख्सान र सारीपुलमा जारी रहेको सैनिक प्रवक्ताले सोमबार जानकारी दिनुभएको छ ।
सो कारबाही गत शनिबारबाट शुरु भएको पनि उहाँले बताउनुभएको छ । सरकारी सुरक्षाबलले हेलिकोप्टरबाट सो कारबाही गरेको प्रवक्ता नुस्रातुल्लाह जमसिदीले बताउनुभएको छ ।
बादख्सानको वार्डोज जिल्लामा भएको यस कारबाहीमा अन्य छ जना तालिवान आतंककारी घाइते भएका जनाइएको छ ।
त्यसैगरी कारबाहीमा परी अरु केही आतंककारी घाइते भएका छन् । यसको यकिन संख्या भने दिइएको छैन ।
केही समययता आतंककारीविरुद्ध गरिने हवाई आक्रमण बढाइएको अफगान रक्षा मन्त्रालयका प्रवक्ता जनरल दौउलत वाजिरीले बताउनुभएको छ ।
यस कारबाहीको विषयमा तालिवान आतंककारीले केही टिप्पणी गरेका छैनन् । (रासस)