अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।
निःशस्त्र नागरिकको शान्तिपूर्ण रुपमा बस्न पाउने अधिकारको हनन गर्नेमात्र नभएर यसरी उनीहरुको ज्यान लिने जस्तो अपराधको जतिसुकै निन्दा गरे पनि नपुग्ने संयुक्त राष्ट्रसंघका महासचिव प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छन् । यस आक्रमणमा मारिएका व्यक्तिमा विदेशीहरु पनि परेका छन् ।
गत आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा भएको यस आक्रमणमा परी २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले एएफपी समाचार समितिलाई बताउनुभएको थियो । सो सङ्ख्या बढेर ४० पुगेको छ ।
यस आक्रमणको जिम्मा तालिवान आतङ्ककारी समूहले लिएको छ । पाँच आतङ्ककारी होटलभित्र प्रवेश गरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको थियो ।
प्रहरीको कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन् । राष्ट्रसंघले नागरिकको ज्यान लिनेजस्तो जघन्य अपराधबाट कसैको पनि भलो नगर्ने र उक्त समूहले गर्न खोजेको भनिएको स्वार्थ पनि कदापि पूरा नहुने बताएको छ ।
घटनास्थल अफगान गृह मन्त्रालयको पुरानो भवन नजिकै पर्छ । आत्मघाती हमलाको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन् । (रासस)