संविधान कार्यान्वयनमा सरकार असफल भएको भन्दै मकवानपुर हेटौडा निवासी राकेश कुमार शर्माले संविधानको श्राद्ध गरेका छन् ।
२०७२ असोज ३ गते जारी संविधान कार्यान्वयनमा विभिन्न ६ कारणले सरकार असफल भएको भन्दै शर्माले संविधानको श्राद्ध गर्दै आएका छन् । सोही अनुसार हेटौंडा उपमहानगरपालिका –२ निवासी शर्माले बिहिबार भरतपुरको मालपोत चोकमा संविधानको श्राद्ध गरेका हुन् ।
उनले यसअघि वीरगञ्ज, रौतहट र हेटौंडामा संविधानको श्राद्ध गरिसकेका छन् । संविधान कार्यान्वयनका लागि मन्त्रीमण्डलमा २५ जना मात्रै मन्त्रीहरु रहनुपर्ने भन्दै उनले वर्तमान सरकार यसमा असफल भइसकेको बताए ।
संविधान नै बहिस्कार गर्ने सभासदहरु समेत मन्त्रीमण्डलमा सहभागि भएकाले संविधानको श्राद्ध गर्नुपरेको उनको भनाइ थियो । कर्मचारी तथा जिल्ला कार्यालय हरुको समायोजनमा पनि सरकारले उचित अवधारणा बनाउन नसकेको उनले बताए ।
२०७४ साल माघ ७ गतेभित्र संविधान कार्यान्वयनमा आइसक्नुपर्ने बताउंदै उनले अझै पनि प्रतिनिधिसभाको समानुपातिक तर्फका मतपरिणाम सार्वजनिक गर्न नसक्नु र नयाँ सरकार गठनमा अवरोध सिर्जना भएकाले संविधान मरिसकेको उनको भनाइ थियो । मुलुकका लागि संघीयता घातक सावित भएको उनले बताएका छन् ।
संविधानको श्राद्धमा उनले संघीयता, स्थानीय निकाय, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रियसभा लगायत ०७२ सालमा जारी संविधानलाई नै तृप्यन्ताम भएको घोषणा गरेका हुन् ।