हरेक परदेशीका बलात्कृत सपनाहरु
आँखाभरी छट्पटाई रहेका हुन्छन्
घर छाड्नुको पीडा र परदेशिनुको बाध्यताले
हो भन्न सजिलो छ,
कसरी छाड्नु आफ्नो आमाको काख ?
अनि कसरी त्याग्नु आफ्नो माटो ?
यी प्रश्नहरुको लामसंग
अनुत्तरित भई दिन्छन्
भोको पेटका ज्वारभाटाहरु
र…बैरो बनी दिन्छन् अभावका श्रवण शक्तिहरु |
भन्न सजिलो छ,
पौरख भए यँही स्वर्ग छ
जाँगर भए यँही कर्म छ
तर ……..पौरख र जाँगर मात्रको के कुरा भो र ?
आधुनिकताको रवाफले समयलाई
पछारी दिएको छ,
आजभोली एक मानो खोले खाएर
सोझोपनमा बाँच्ने समयलाई
प्रतिष्पर्धा र देखासेखीको नकाब भिर्नेहरुले
नेपथ्यमा धकेली दिएको छ
सन्तानहरुमा आवश्यकता होईन
बिलासिताको मन्त्र फुकिदिएको छ
र ……..बाध्यताले बाबु/आमा पन्छी झैं उड्नु परेको छ
मज्दुरीको नाममा पसिना बेच्न |
आजकल चुल्होमा जाउलो होईन,
आधुनिक ग्याँस चुल्होमा
चिकन र मटनका रोस्टहरु सेकिनु पर्छ
अनि….चुलोढुङ्गोमा अलौटे मकै भुटिनु होईन
ईलेक्ट्रोनिक ओभनमा कवाब पाक्नु पर्छ
अनि …आफ्ना छोरा/छोरीहरु पनि कहाँ
पहिलेका काले /सुन्तली हुन् र ?
माईकल र डेजी अनि के के के के ?
त्यसैले घरमा चुल्हो /चौका होईन
अंग्रेजी किचन हुनुपर्छ,
यस्तै यस्तै बाध्यताले
बिदेशको गोठालो गर्न विवश बन्नु परेको छ |
हो …स्वदेशमा पनि यस्ता सुबिधा नभएका होईनन्
तर ………,तर सोझो जागिरेको हुर्मत कहाँ ?
सानो तिनो मज्दुरी गर्नेको हैशियत कहाँ ?
यस्ता बिलाशितामा रमाउने त,कि
ओहदामा बस्नेहरु हुन्छन्
कि देशको ढुकुटी रित्त्याएर आफु भरिने हुन्छन्
जो आफु निस्वार्थ र निश्छलताले बाँचेर परिश्रम गर्छन्
बस्…उनीहरु संधै एकपेट भर्नमा नै अल्झिन्छन्
अनि हरपल अभावको पेटारो कसेर
दिवास्वप्नमा नै बाँच्न बाध्य बन्छन्
कि त परदेशी बनेर बलात्कृत सपनाहरु सजाउँदै
मुंग्लान भासिन्छन् आफ्नो सन्ततीको
भविष्यको जोगाड गर्न|