अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 23:49

माघे संक्रान्तिमा बौद्ध धर्मालम्बीले मनाए लिच्छवीकालीन ‘सम्यक महादान पर्व’  

रमेश गिरी-लक्ष्मी गारु (रासस) २०७४ माघ १ गते ६:१८ मा प्रकाशित

 माघे संक्रान्तिका अवसरमा भक्तपुरका बौद्ध धर्मालम्बीले आज सम्यक महादान पर्व मनाएका छन् ।  लिच्छवीकालीन सम्यक महादान पर्व बौद्ध धर्मावलम्बीले हाम्ब सँलु अर्थात् तिल संक्रान्तिका नाममा मनाउँछन् । विभिन्न स्वरुपका बुद्ध र विहारका गुरुपुरोहितलाई आआफ्नो मनोकांक्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले सम्यक महादान गरे । 

सम्यक दानका लागि बिहान सबेरै क्वाठण्डाँै प्रसन्नशील महाविहार, साकोथा चतुब्रह्म महाविहार, गोल्मढी मंगल धर्मदीप विहार, इटाछें जयकृति महाविहार (थथुवही) र भार्वाचो बौद्ध समकृत विहारका दीपंकर गरी पाँच दीपंकर बुद्ध एवं प्रसन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दान दाताका कूल देवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकर) तथा प्रसन्नशील महाविहारका स्थवीर आजु, गुणकृति महाविहार (थिमि)का उपाध्याय गुरुजु एवं मूल पुरोहित गुरुजुलाई इटाछेँस्थित जयकृति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्रमा जम्मा गरिन्छ ।

सम्यक भोजन दान पर्व नेसं ७८७ मा भक्तपुर चतुब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको थियो । उहाँले सम्यक दान आयोजना गरिएको भक्तपुर इटाछेँस्थित थथुवही (जयकृति महाविहार) जीर्ण भएकाले जयरत्नले जीर्णोद्वार गरेको इतिहासमा उल्लेख छ । जयरत्नले सम्यक दानपर्व नियमित रुपमा प्रत्येक वर्ष आयोजना गर्न करिब ३६० रोपनी जग्गाको आयस्ता व्यवस्था गरेका थिए । जयरत्नपछि उहाँका छोरा जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्य रुपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपंकर स्थापना गरेका थिए ।
नेसं १०४४ मा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा प्रमुख पाँच दीपंकर, सुवर्ण देवतासहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुर, नाला, साँगा, थिमि आदि ठाउँमा रहेका दीपंकर तथागतसमेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको भक्तपुर सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले बताउनुभयो ।

सम्यक दानमा भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीका साथै फलफूल र मिठाइ दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाइएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ । त्यस्तै सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षु बज्राचार्य र शाक्य वर्गलाई धान, चामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न र दक्षिणा दान गरी मनाउँदै आएका छन् ।

सम्यक दान पर्व बुद्धको पालादेखि चल्दै आएको विश्वास रहे तापनि ऐतिहासिक प्रमाणका रुपमा लिच्छवि धार्मिक राजा वृषदेवको पालामा शुरु भएकामा हो काठमाडौँ उपत्यकामा नियमित र ऐच्छिकरुपमा चल्दै आएको छ । प्रत्येक १२ वर्षमा एक पटक काठमाडाँै, स्वयम्भूको भुइँख्यल र पाँच वर्षमा एक पटक ललितपुर, नागबहालमा सम्यक दान पर्व मनाइन्छ । भक्तपुरमा प्रत्येक वर्ष माघे संक्रान्तिको दिन नियमित रुपमा यो पर्व चल्दै आएको छ ।

नियमित रुपमा सम्यक दान पर्वका लागि व्यवस्था गरिएको ३६० रोपनी जग्गामध्ये करिब २० रोपनी मात्र जग्गा बाँकी रहेको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । राणा प्रधानमन्त्री जंगबहादुरदेखि विभिन्न समयमा जग्गा अधिग्रहण गरिएकाले सम्यक दान पर्व सञ्चालन हुने स्थान खुम्चँदै गएको समितिका सचिव अशोक बज्राचार्यले बताउनुभयो ।

सम्यक दान पर्व सञ्चालन हुने भुइँख्य क्षेत्र अधिग्रहण गरी सरकारले भक्तपुर अस्पताल, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लि, जिल्ला हुलाक कार्यालय र सरकारी वकिलको कार्यालय स्थापना गरिसकेको छ ।
मकर मेलामा घुइँचो
माघे संक्रान्तिका अवसरमा आज तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपतिनारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
यस दिन यी मन्दिरका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवतीले प्रसादका रुपमा यी नारायणको नाइटोमाथिको घिउचाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको घिउचाकु खाए छोरी लाभ हुने स्थानीय जनविश्वास छ ।
नेवारी भाषामा घ्चाकु सल्हुँ भनिने यस दिन चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ ।
यसैगरी आजै तलेजुमा पनि विशेष पूजा गरिएको छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले गरी विभिन्न परिकार चढाई विशेष पूजा पूजा गरेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू