‘सहमति नभएको अवस्थामा सरकारले राजधानी बनाउने र नागरिकले भत्काउने कार्य ठीक हुँदैन,’ थापाले भने, ‘त्यसैले सोमबारसम्म सहमति जुटाउन कोसिस गर्छौंं । नजुटे प्रदेशको अस्थायी राजधानी तोक्दैनौं ।’
प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने, प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश प्रमुखले प्रदेश सांसदलाई शपथ खुवाउने कार्य राजधानीमै हुन सक्ने जानकारी पनि कानुनमन्त्रीले दिए । सहमति भए प्रदेशको राजधानीमै शपथ खुवाउने थापाले बताए । सरकारले सहमतिका लागि के–कस्तो प्रयास गरिरहेको छ भन्ने जिज्ञासामा उनले वाम गठबन्धनका शीर्ष नेताहरूसँगै प्रधानमन्त्री सम्पर्कमा रहेको जानकारी दिए । प्रदेशका सांसदको बहुमतले तोकेको स्थानलाई प्रदेशको राजधानी बनाउने कुरा त संविधानमै रहेकाले सो प्रक्रिया पनि राजधानीमै हुन सक्ने थापाले बताए ।
एमालेका नेता अग्निप्रसाद खरेलले संविधानसम्मत काम गर्न सहमति नचाहिने र सरकार गठनमा ढिलाइ गर्न नहुने बताए । ‘संविधानसम्मत काम गर्न सरकारलाई सहमति चाहिँदैन, योे वा त्यो नाममा सरकार गठनमा ढिला गर्न पाइँदैन’, उनले भने । बिहीबारको सर्वदलीय बैठकपछि सरकारले एमालेका जिम्मेवार नेताहरूसँग छलफल नगरेको उनले जानकारी दिए । ‘सर्वदलीय बैठकपछि सरकारले हामीसँग वार्ता गरेको छैन । कुर्सीमा बसेर निर्णय गर्न नजान्ने अनि अन्तिममा सहमति खोज्ने प्रवृत्ति ठीक होइन’, उनले भने आजको अन्नपूर्णमा खबर छ।