हावा उसरी नै चलिरहेछ
उसरी नै खसेको छ पिपलको पात भुईँमा
फेरि पनि
आधी खाएर बरको दाना
छेवैमा खसाएको छ लोखर्केले
ओहोर दोहोरो छ बटुवाहरूको
म जस्तै दु:खको भारी बिसाउनेहरू
शीतल तापिरहेछन् यही छहारी मुनि ।
सदियौंदेखि सँगै देख्छु यी बरपिपल
यसपाल पनि
अलिकति लम्केछ बरको त्यो हाँगा
अलिकति तन्केछ पिपलको यो हाँगा
हेर त,
उमेर बढेसँगै हरेक साल
झन् झन् बढिरहेको छ यिनीहरूको अङ्कमाल !
अनि को हो त्यो भन्ने
कि प्रेम बैँसको रौनकता मात्र हो ?
को हो त्यो गीत गाउने
कि प्रेम जवानीको आवेग मात्र हो ?
तर,
प्रवाह छैन तिमीलाई
यी कुनै कुराको !
आफै चुट्टिने गरी तन्किए पनि म
आफैलाई उछिन्ने गरी दगुरे पनि म
जति झुके पनि म आफै भाँचिने गरी
जति उफ्रिए पनि आफैलाई नाघ्ने गरी
तिमी त कहिल्यै नभेटिने गरी
टाढिएकी मान्छे !
एउटा अनन्त दुरी छोडेर
अन्तरिक्ष र धर्ती झैँ ।
बर्षौदेखि यही बाटो भएर
तिमीले मेरा पसिना पुछेको उकालीमा
मायाले मलाई
तिमीले हम्केको देउरालीमा
यो हामी हिँडेको बाटोले विर्सियोस्
यो हामी उभिएको माटोले भुलोस्
यो चौतारोले याद नगरोस्
हो प्रिय,
त्यो तिम्रो मुस्कानलाई पत्ता नहोस्
मैले तिम्रो चुल्ठोमा सिउरिदिएको फुल !
यसरी म बिथोलिएको
तिम्रा आँसुलाई थाहा नहोस्
थाहा नहोस् प्रिय
म अलपत्र रोकिएको यसरी
तिम्रा पाइलालाई थाहा नहोस्
समयलाई चुपचाप बित्न देऊ
नरोक तिम्रा गतिहरू,यथावत् छोडिदेऊ
बिहान दिन हुन्छ नै,
दिन पनि रात हुन्छ
हुन देऊ ।
केही छैन,
मेरो बाँकी जिन्दगी म
यही अँध्यारो कुनोबाट जीवनको
तारा गनेर बिताउँला !
र अन्तिममा-
यो त झन् पटक्कै थाहा नहोस् तिमीलाई
कि म आज यो चौतारीमा रोकिएर
फेरि अर्को पटक
उसरी नै भूल गरिरहेछु..
तिमीलाई संझिएर ।