नाइजेरियाको आतङ्ककारी समूह बोको हरामलक्षित सुरक्षा कारबाहीमा परी २० आतङ्ककारी मारिएका नाइजेरियाली सैनिकले बुधबार जानकारी दिएको छ ।
सो कारबाहीका क्रममा बोको हरामका १७ लडाकू पक्राउ परेको पनि जनाइएको छ । करिब दुई साता अगाडिदेखि सुरक्षा कारबाही शुरु भएको नाइजेरियाली सेनाका प्रवक्ता तिमोथी एन्टीघाले जानकारी दिनुभयो ।
सुरक्षाकर्मीहरूले हवाई र स्थलमार्गबाट कारबाही गरेका थिए । जारी यस कारबाहीका क्रममा महिला बालबालिका र वृद्धगरी एक सयभन्दा बढीलाई उद्धार गरिएको पनि जनाइएको छ ।
भीडन्तका क्रममा छ जना सुरक्षाकर्मी घाइते भएका र उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार उद्धार गरिएकालाई लडाकूहरूले जबरजस्ती नियन्त्रणमा लिएका थिए ।