कात्तिक बालबालिकाले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम द्वन्द्वपीडित बालबालिकालाई दान गरेका छन् । बेँसीशहर–२ भकुण्डेका बालबालिकाले रु १४ हजार ७३० जम्मा गरेको र सो रकम आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका द्वन्द्वपीडित बालबालिकालाई प्रदान गरेका हुन् ।
परम्परागत देउसीभैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा खर्च गर्नु उत्तम भएको भन्दै द्वन्द्वपीडित बालबालिकालाई प्रदान गरिएको देउसीभैलो समूहका युजन धितालले बताउनुभयो । आफूले रमाइलो गरेर जम्मा गरेको रकम बालगृहमा दिएर त्यहाँका दाजुदिदी रमाउँदा आफूहरुलाई झनै आनन्द मिलेको देउसीभैलो समूहकी सुजा थापाले बताउनुभयो । पैसा धेरै थोरैभन्दा पनि राम्रो कामको सुरुआत गर्न सकेकामा आफूहरुलाई गर्व लागेको देउसीभैलो समूहका शिशिर कँडेलले बताउनुभयो ।
सोही बालबालिकाको समूहले अघिल्लो वर्ष पनि देउसीभैलो खेलेर जम्मा भएको करिब रु सात हजार द्वन्द्वपीडित बालबालिकालाई नै सहयोग गरेका थिए । (रासस) तस्बिर: सन्देश पौडेल, लमजुङ, रासस