अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 16:54

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

बिआरटीनेपाल २०७४ भदौ २३ गते १२:५० मा प्रकाशित

नेकपा माओवादी केन्द्र दोलखाका नेता खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् ।

खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार मध्याह्न १२ बजेतिर कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने बुढाथोकीलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोे छ । बिगु गाउँपालिकाअन्तर्गत लादुकको झोरुङ भन्ने स्थानमा कामको सिलसिलामा पुगेका ढुङ्गेललाई बुढाथोकीले एक्कासि पछाडिबाट खुकुरी प्रहार गरेका थिए ।

ढुङ्गेललाई पुरानो रिसइवीका कारण खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बुढाथोकीलाई सिङ्गटीबाट नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका ढुङ्गेललाई अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको थियो ।

सदरमुकाम चरिकोटका अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको नर्भिक अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस

प्रतिक्रिया