अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 15:17

भविन लिम्बूको कविता सङ्ग्रह ‘छायाँ’ विमोचित

बिआरटीनेपाल २०७४ भदौ १६ गते १२:३६ मा प्रकाशित

युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका हुन् ।

छायाँबारे उपकुलपति घिमिरेले भने— ‘नयाँ पन, नयाँ शैली भित्रिएको छ यो छायाँ मार्फत । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ ।’

यसै गरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफनो धारणा राखे— ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको छ । सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो ।’

समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोखे । उनले भने— ‘कविताको मौलिक स्वाद यसमा छ ।’

कृतिका लेखक लिम्बूले आपूm विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । उनले भने— ‘कविता लेख्दा मलाई ठूलो सन्तुष्ठी हुन्छ । सिर्जनाले दिने सुख अरुबाट पाइँदैन ।’

साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताए । उनले भने— ‘भविनमा ज्यादै कलात्मक लेखनीका गुणहरु देखिन्छन् ।’

लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौँ सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध छन् । छायाँ भविनको दोस्रो कृति हो । यस अघि उनको हङकङ चसमिस कविता सङ्ग्रह आइसकेको छ ।

उक्त अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्ती लगायतले आ–आफना मन्तव्य राखेका थिए । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो ।

प्रतिक्रिया