अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 04:36

गाई काटेर खाँदा हिन्दुलाई आपत्ति किन ? — जीवन मंगोल

बिआरटीनेपाल २०७४ साउन ८ गते ०:०४ मा प्रकाशित

आजभोलि मात्र होइन, गाई काट्न प्रतिबन्धको प्रारम्भ मसिना राज्यहरू गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खास गरी चाहिँ गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरे पनि गोवद्ध भने रोकिएको अहिले सम्म थाहा छैन । नेपालमा गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई “पातकी’ “नरपिसाच” भनियो र कानुनी व्यवस्थाद्वारा कठोर सजायको व्यवस्था गरिएको छ । र, गोवद्ध गरेका नागरिकलाई १२ वर्षको जेल सजाय त अहिले सम्म पनि जारी नै छ । तामाङ र सार्कीहरुलाई मरेको गाई गोरुको मासु खान अलि–अलि छुट थियो । त्यस बापत बाहुन क्षेत्रीले सिनो खाने भोटेहरु भनेर तामाङलाई घृणा गर्ने गर्थे, भने सार्कीहरु सिनो खाने गिद्ध, गन्धे भनेर घृणा अपमानको सिकार भएकै हो । तर अहिले परिस्थिति बदलिएको छ र लडेर मरेको गाईको मासु समेत खानेलाई सजाय दिन थालिएको छ । यस्तो अवस्था आइ पुग्यो कि मान्छे मार्दा सजिलो छ गाई काट्दा गोलीले चिसिनु पर्ने भयो । त्यस्तै भएको थियो गोरखाका लाक्पा तामाङलाई । आजभन्दा ३ वर्ष अघि गाई काटेर खाएको भन्दै गोली ठोकेर लाक्पा तामा्ङलाई मा¥यो । तामाङलाई मार्नेले राज्यबाट माफ पायो । मान्छे मार्ने उद्योगमा लागेकाहरु यसरी नै निर्धक्क साथ हिडि रहेका छन् । तर गाई गोरुको मासु खाने अहिले पनि जेलमा कच्रिनु परेको छ । यो कस्तो कानुन हो ? यो कस्तो संस्कार हो ? यो कस्तो राज्य हो ?

मान्छे भन्दा गाई महान

मंगोलहरु गाईको मासु खान्छन् मंगोलहरुको अधिकारको कुरा हो । बाहुन क्षेत्रीले गाईको मासु खान्छन् उनीहरूको अधिकारको कुरा हो । गाई उनीहरूको आमा हुन सक्छ त्यो मान्नु र भन्नु अधिकारको कुरा हो । तर हिन्दुको आमा भन्दैमा अहिन्दुको पनि आमा हो, जसरी पनि आमा मान्नु पर्छ भन्ने अधिकार चाहिँ पक्कै नहुनु पर्ने हो । यो हप्ताको पहिलो दिन पोखरामा गाई काटेर खाएको आरोपमा २ जना पक्राउ परे । १ गते दिउसो पोखरा लेखनाथ २४ स्थित सेरागाउँको जङ्गलमा गाई काटेर खाएको आरोपमा सेरागाउँका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई प्रहरीले पक्राउ ग¥यो । गाई काटेकै अपराध अन्तर्गत साउन ५ गते पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ का ५८ वर्षीय राम बहादुर नेपाली, सोही स्थानमा बस्ने ६४ वर्षीय बद्रिका नेपाली, ४८ वर्षीय पुतली नेपाली र ३१ वर्षीय कल्पना नेपाली रहेका छन् । गुल्मी जिल्लामा गाई काटेर खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

रुरु गाउँपालिका ५ बम्घा सौरकोटका ५२ वर्षीय डम्बर सार्की, ६३ वर्षीय सन्तबहादुर नेपाली र उनका छोरा २६ वर्षीय अम्मरबहादुर नेपालीलाई प्रहरीले पक्राउ ग¥यो । यसरी पक्राउ पर्नेलाई मूलकी ऐनको चौपाया सम्बन्धी महलको ११ अनुसार १२ वर्ष कैद सजायँ हुने कानुनी व्यवस्था छँदैछ । यी पक्राउ पर्ने सप्पै अछुत, दलित भनिएका अपमानित मंगोलहरु नै हुन् । नेपालको मूल कानुन, मुलुकी ऐनमा मान्छे मार्नेलाई पनि यति बलियो कानुन छैन । यहाँ मान्छे भन्दा गाई प्राणी महान छ । जहाँ मान्छे–मान्छेको रूपमा बाँच्न पाएको छैन । गाई त आमा भएर राज्यले नै संरक्षण गरेको छ । अब यो देशमा सम्मानपूर्वक बाँच्न गाईको जुनी लिएर जन्मनु पर्ने समय आएको छ । मान्छेले मान्छेको सम्मान पाउदो हो त अछुत भनेर कानको जालि फुटाउनु पर्ने थिएन । मान्छेलाई बलिको बोका झैँ बनाइन्छ र मान्छेको बलि दिइन्छ । कुन कानुनले छेकेको छ र ?

२०७३ माघ २४ गते रामेछाप जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवा स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे । उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए । यसरी मान्छेलाई कुकुर भन्दा पनि तल्लो दर्जामा राख्ने समाज अनि गाई राज्यमा बस्दा गाई जस्तो कानुनले सुसज्जित भएर बस्नु पाउनु गाई अवतार लिनु पर्ने देखिएन र ? बाहुनवादी कानुनी राज्यमा मान्छे मार्नु ठुलो कुरा होइन । गाईको मासु खानु महा अपराध हुन्छ ।

गाई मंगोलको पक्वान

हिन्दुहरुले गाईलाई लक्ष्मी अवतार अर्थात् आमा मान्दछन् । गाई हिन्दुको आमा भए गोरु बाबु हो । बाबुलाई जोत्नु मिल्दैन । बेच्न पनि मिल्दैन । गोरु भए बुढो हुन्जेल जोत्ने गाई भए दूध दिन्जेल दूध खाने बेच्ने पैसो कमाउने र अन्तमा भारततिर बेचि दिने । यदि साच्चीकै आमा भए, आमालाई जस्तै घरमा ल्याएर पाल्नु पर्ने हो । कानुनी हिसाबले आमाको दूध बेच्न पनि गैरकानुनी हो । गाई आमा भएपछि दूध बेच्न पाइन्छ ? तर नेपाल र भारतका बाहुन क्षेत्रीले आफ्नो आमाको दूध बेचिरहेका छन् । गाईले बाहुन क्षेत्री भगौडा भएको र कहिले युरोप हुँदै भारत र कहिले भारत हुँदै नेपाल प्रवेश गर्दा गुण लगाएको कारण आमा मानेका हो । त्यसमा आपत्ति छैन तर मंगोलको आमा नभएर पक्वान हो । मंगोलहरुको सस्कारगत हिसाबले पनि गाईको मासु खान वन्देज थिएन । मंगोल राई समुदायले उधौली–उभौली या पित्र माङ गर्दा नाक्छोङले पित्र पुर्खालाई गाईको मासु बक्साउनु पर्ने चलन छ । जहाँ नाक्छोङले फलाक्दा गाईको मासु चढाउदैछु, भन्दै सुँगुर, कुखुराको मासु चढाइरहेको हुन्छ । नाक्छोङले पित्र पुर्खालाई ढाट्ने क्रममा गोरुको मासु (पाक्पासा) भनेर सुँगुर र कुखुरा दिने चलन जब गाई काट्न प्रतिबन्ध भयो, त्यसपछि यो ढाट्ने क्रम सुरुवात भयो र अहिले पनि निरन्तर जारी छ ।

राई भित्रकै कुलुङहरुमा गाई पित्र बुझाउदा टाउको अनिवार्य चाहिन्थ्यो । अहिले पनि गाई काट्ने मौलोहरु पूर्वी भेगमा पाइन्छन् । त्यसकै उदाहरण ताप्लेजुङको लिङ्खीममा गाई काट्ने मौलो अझै छँदैछ । भिन्न भिन्न मंगोल समुदायका मानिसहरूले गाई खाइल्याएको र पृथ्वीनारायनको साम्राज्य विस्तारको अभियान समाप्त भए लगतै प्रतिबन्ध गर्न सुरुवात भएको इतिहासले पुष्टि गर्छ । राजेन्द्र विक्रम शाहले गाई गोरुको सट्टा रागाको मासु खान आदेश दिएका थिए । विभिन्न ऐतिहासिक तथ्यको आधारमा मंगोलहरु गौभक्षक थिए तर हिन्दुहरुले जवरजस्ती लादेको देखिन्छ ।

गाईको मासुको असली पारखी

अहिले पनि गाईको मासु खाने बाहुन क्षेत्री प्रशस्त छन् । नेपालका ठुला–ठुला होटलहरु गाईको मासु बिना चल्दैनन् । नेपालका चर्चित सुपरमार्केटमा गाईको मासु बिक्री वितरण भइरहेको छ । ठमेलतिरका अधिकांश रेस्टुरेन्ट, होटेलमा गाईको मासु नभए होटेल चल्दैन । ती ठुला होटेलमा लुकी लुकी ह्वीस्की र बियर सँग गाई गोरुको सितनसँग मस्ति गर्ने ठालू मंगोल भन्दा बाहुन क्षेत्र बेसी छन् । यस हिसाबले पनि बाहुन क्षेत्री गाई गोरुको मासुको पारखी हुन् ।
अबोध प्राणीमाथि राजनीति

हिन्दु राष्ट्रवादको नारा लगाउनेहरुले विशेष गरी अबोध जनावरलाई राजनीतिकरण गरेका छन् । भारतमा हिन्दुवादी संस्था हिन्दु महासभाले चर्को गोरक्षाको स्लोगन ल्याएको थियो । राष्ट्रिय स्वंयम सेवक सभा, भाजपा, शिवसेनाहरु गाई राजनीति गरिरहेका छन् । भारतमा हिन्दु अतिवादकै कारण विश्वसंग दुस्मन पैदा गरिरहेको छ भने नेपालका हिन्दु अतिवादी साम्राज्यवादीले हिन्दुु राष्ट्रवादको नारालाई प्रचार गरी नै रहेका छन् । राप्रपा नेपालले गाईलाई आफ्नो आमा भनेपनि उसले चुनाव चिन्ह बनाएको छ । नेपालको संविधान २०७२ मा पनि गाईलाई राष्ट्रिय जनावर बनाइ मुलुकलाई हिन्दु राष्ट्रकै रूपमा उभ्याउने बाहुन क्षेत्रीहरुको प्रयास एक पटक सफल भएको छ । गाईकै कारण प्रतिक्रान्तिको खतरा पनि उतिकै बढेको छ । अबोध प्राणीको नाममा राजनीति गर्ने खेलाडीहरुले प्रायः हिन्दु अतिवादका मतियारहरु हुन । जसले बहु–धार्मिकता स्वीकारर्न तयार छैनन् । जसले धर्मनिरपेक्ष स्वीकार गर्न तयार छैनन् । तिनीहरूको राजनीतिक हतियारको रूपमा अघि सार्दै अबोध गाईको राजनीति गरिरहनु तत्काललाई लाभदायक नै भए पनि भविष्यमा गाई राजनीतिले निकै सङ्कट निम्त्याइरहेको देखिन्छ ।

आर्य पुर्खा गोभक्षक कि गोरक्षक ?

भारतका संविधानविद बाबा साहेव अम्बेडकरले हिन्दुहरुले गाई खान्थे कि खादैन थिए भन्दा पनि किन छाडे भन्ने खोजको विषय बताएका थिए । यसकारण आर्यन बाहुन क्षेत्रीहरुको पुर्खा गाई खान्थे भन्दा आश्चर्य मान्नु पर्दैन । पछिल्ला सूत्र साहित्य र पुराणहरु भन्दा अघि लेखिएका कथित धर्म ग्रन्थले हिन्दु समाजमा गौहत्या र गोमांसाहारको व्यापक प्रचलन भएको कुरा प्रमाणित भई सकेको कुरा हो । त्यसताका हिन्दु समाजमा गाई गोरु मारेर त्यसको मासु नखाने व्यक्ति एउटा असल हिन्दु ठहरिदैनन्थ्यो र गाई गोरुको मासु नखाने कुनै ब्रम्हाण हुँदैनथ्यो ।

सिन्धु गङ्गाको मुहान जम्बूद्विपको क्षेत्र दशपुर निवासी राजा रन्तीेदेव ब्राह्मण संस्कृतिका पुत्र थिए । उनको कथा महाभारत शान्तिपर्व र बनपर्वमा उल्लेख भएको यो तथ्यलाई हेरौ ः

राज्ञो महान् से पूर्व रन्तीदेवस्य वै द्वित ।
अहत्यहनि वध्येते द्वे सहस्रे गर्वा तथा ।
समोर्स ददतोह्यन्नं रन्तीदेवस्य नित्यशः ।
अतुला कीर्तिरभत्रृवपस्य द्विजसत्तम । –वनपर्व, २०८ः८–१०
महानदी चर्मराशेरुक्लेदात् संसृजे यतः ।
ततश्चर्मण्वतीत्येवं विख्याता सा महादनी । शान्ति पर्व २९–१२३

अर्थात, ब्राह्माणपुत्र संस्कृतिका छोरा राजा रन्तीदेव अतिथि सेवाको निम्ति प्रसिद्ध थिए । रन्तीदेवको भोजनालयमा ब्राह्मणहरुलाई दैनिक भोजन गराउन दुई हजार गाई गोरु मारिन्थ्यो । ती वध गरिएका गाई–गोरुको छाला स्याहार्न नसक्दा कुनै एक ठुलो खाल्डोमा फ्याँकिन्थ्यो । त्यो छाला कुहेर त्यहाँबाट दुर्गन्धित पानी बग्दै–बग्दै त्यहाँबाट एउटा सानो खोलाको रूप लिन्छ । अन्त्यमा त्यस नदीको नाउँ चर्मवती(अर्थात् छालाबाट उत्पन्न भएको नदी) कहलाइयो । त्यस नदीको शिरलाई नै त्यहाँका मानिसहरूले चम्बल घाटी –(चम्वेदा) भन्न थाले । यसरी चर्मवतीको नाम न्वारान गरेर पवित्र गङ्गा राखियो । त्यसै गरी राजा रन्तीदेवको भान्साघरमा भोजन बनाउने भान्सेहरु प्रायः दुई हजार जना थिए । ब्राह्मण अतिथिहरुको धुइरो यति साह्रो हुन्थ्यो कि भान्सेहरुलाई मासु प्¥याउन धौ–धौ परेर दया गरी आज सूपमात्र ग्रहण गर्नुहोस् भनी अनुरोध गर्नु पथ्र्यो । द्रोणपर्व ६७ः१–२, द्रोणपर्व ६६ः१५–१७, शान्तिपर्व २७–२८ । “नामोंसो मधुपर्को भवती” अर्थात् मासु बिनाको मधुपर्क हुन सक्दैन । अतिथि सत्कारको लागि मधुपर्क अति उत्तम मानिन्थ्यो ।

(बृहदारण्यक उपनिषद ६।४।१८) मा गोमांस भक्षण गर्नाले उपल्लो तहको सन्तान प्राप्त हुने सुझाएको छ ः

 

“ये इच्छेत पुत्रोमे पण्डितो विगीतः समितिंगमः शुश्रूषितां वाचं
भाषिता जायेत, सर्वान वेदा अनुव्रतीत, सर्वमायुरियादिती,
मासोदनं पाचयित्वा सर्पिष्मन्तथ अश्वनीयताम् इश्वरी
जनयितवा औक्षेण वाऽऽर्ष मेण वा ।।

अर्थात, यदि कोही आफ्नो छोरा प्रख्यात विद्वान, सबै वेदका ज्ञानी, सभाहरुमा प्रियभाषी एवं पूर्ण जीवनको रसास्वादन गर्न सक्ने जन्मियोस् भन्ने चाहना गर्छ भने उसले घ्युमा पकाएको तन्नेरी वा अझ उमेर छिप्पिएको साढेको मासु र भात खानुपर्छ जसबाट त्यस्तो सन्तान प्राप्त हुन्छ । ऋग्वेद पाचौ मण्डलमा –इन्द्रले एक सय साढेको मासु र सोमपान गरेर राक्षशहरुको बध गरेको उल्लेख छ । ऋग्वेद ८ औ र दसौँ मण्डल क्रमशः –“अग्नीलाई गाई गाई र गोरु चढाइन्थ्यो ।” इन्द्रले तिम्रो साढे भक्षण गरिदेलान ।”, र विवाहमा गोरुहरु काटिए” यसबाहेक वेदमा “गौमेदयज्ञ” को बलि चढाउने चलन थियो । सस्कृतको पुरानो विश्वकोषमा भनिएको छ–“शब्द कल्प दूधमा” गोवधयज्ञ र त्यसमा गाई काटिने गाईको विवरण दिँदै “गौ” शब्दबाट गाई भन्ने बुझिने र यस्तो गाई सात खुरे वा नौ खुरे नभएको हुनुपर्ने साथै यज्ञको फल यज्ञराजका निमित्त स्वर्ग प्राप्ति हुने लेखिएको छ । ऋग्वेदमा इन्द्रले भनेका छन्, “इन्द्रणी द्वारा प्रेरणा पाउँदा भएको यज्ञकर्ताहरुले मारेर पकाएको गाईको मासु खाएर म मोटाछु । उनीहरू मेरो पात्रलाई सोमले भर्ने गर्दछन्” इन्द्र– जसरी गाईहरु काटिन्छन त्यसरी नै तिम्रा आयुधले मित्रदोषी राक्षषहरु काटिए र पृथ्वीमा सदाका निमित्त लम्पसार परुन”।

विवाह सस्कारको प्राचीनतम स्वरूप प्रष्ट्याउने वैदिक सुक्तहरुमा सुअवसरमा काटिएका गाईहरुको मासु पस्किने प्रचलनको उदाहरण पनि भेट्टाउन सकिन्छ । ऋग्वेद दशौ मण्डल ८५ वा सुरुत र १३ औँ मन्त्रको हवाला दिँदै–वैदिक कोष”ले ऋग्वेदिक युगमा विवाह सस्कारमा गाई काटिने र गाईको मासुद्वारा भोज लगाउने प्रचलन रहेको थियो । दुलाहाको मर्यादाको निमित्त विवाहको दिन गाई काट्नु पर्दछ” –गृहशुत्र । दुलहा दुलहीलाई गोरुको काचो छालामाथि राख्ने परम्परा रहेको थियो । अपस्वम्भलृ आफ्नो धर्मशुत्रमा –श्राद्धमा काटिएको गाई एक वर्षसम्मका निमित्त मृतकलाई तृप्ती गर्दछ” यर्जुवेदमा गाईको वोसोले पितृहरु तृप्त हुने र यसको परिणाम स्वरूप कर्ताको सबै मनारथ पूर्ण हुन सक्ने विवरण पाइन्छ । महिधरमा–“टाढा रहेका पितृहरुलाई गाईको छाला ल्याउ जसबाट निस्केको बोसोको बादी पितृहरुतिर बगोस र कर्ताका सबै मनोरथहरु पुरा होउन” । “हे इन्द्र यज्ञमनले तयार पारेको सोमरस र पकाएको गोरु तिमी खान्छौ ।” त्यतिमात्र होइन महाभारतमा पनि यस्तो प्रसङ्ग पाइन्छ ।

जस्तैः युधिष्ठिर र पीतामह भिष्मबीच छलफल चल्दा पितृलाई के खानेकुरा श्राद्धमा चढाए पितृहरु सन्तुष्ट होलान् भन्ने कुरा आउँछ । र जवाफमा भिष्म भन्छन्– “मेरो कुरा सुन, पितृको श्राद्ध गर्दा जे–जे खाने कुरा चढायो सोहीअनुसार पितृलाई फल प्राप्त हुनेछ । जस्तैः “तिलको बिजन, भात, जौ, पानी र फलफुल चढाए पितृहरु १ महिना सन्तुष्ट रहने छन् । यसैमा माछाको परिकार पनि थपेर पितृलाई चढाए २ महिना सन्तुष्ट रहने छन् । भेडाको मासु चढाए ३ महिना सन्तुष्ट हुनेछन् । खरायोको मासुसँग खाना चढाए ४ महिना सन्तुष्ट हुनेछन् । बोकाको मासुसँग खानेकुरा चढाए ५ महिना सन्तुष्ट रहनेछन् । सुँगुरको मासुसँग खानेकुरा चढाए ६ महिना सन्तुष्ट रहनेछन् । चराको मासुसँग खानेकुरा चढाए ७ महिना सन्तुष्ट हुनेछन् । पृशात नामक हरिणको मासुसँग खानेकुरा चढाए ८ महिना सन्तुष्ट रहनेछन् । रुरुको मासुसँग खानेकुरा चढाए ९ महिना सन्तुष्ट हुनेछन् । गाभानाको मासुसँग खानेकुरा चढाए १० महिना सन्तुष्ट हुनेछन् । यदि राँगाको मासुसँग खानेकुरा चढाए ११ महिना सन्तुष्ट हुनेछन् भने गाईको मासुसँग खानेकुरा श्रद्धापूर्वक चढाए पुरै १ वर्षभरि सन्तुष्ट हुनेछन् ।”

“पभास गाईको मासु र घ्यू मिसाएको परिकार अत्यन्तै स्वादिष्ट हुन्छ । भद्रीनास नामक गोरुको मासु चढाए पितृहरू १२ वर्ष सन्तुष्ट रहनेछन् । श्राद्धका दिन पितृलाई गैँडाको मासु वा रातो बोकाको मासुसँग कलस्क नामक फुलका पत्ती चढाए उनीहरू अजम्बरी हुनेछन् । अर्थात्, तिमी तिम्रा पितृलाई अजम्बरी भएर रहिरहोस् भन्ने चाहन्छौ भने रातो बोकाको मासु श्राद्धका दिन चढाउनू ।” (महाभारत अनुशासन पर्व भाग ८८)

सथपथ ब्राह्मण ३.१.२.२१ मा ऋषि यज्ञवल्क्यले म त यो –गाईको मासु) खान्छु, किनभने यो अत्यन्तै स्वादिस्ट छ” भनेका छन् । यस्तै मज्झिमनिकाय (३।४।५), ऋग्वेद (१०।७९।६ गोमांस भक्षण भएको उल्लेख छ । सबै जसो प्राचीन हिन्दु साहित्यमा गाईको मासुको प्रयोग भएको कुरा उल्लेख भएबाट यो प्रस्ट छ कि हिन्दुहरुले गाई खान्थे ।

 

प्रतिक्रिया