साउदी अरबको तावुकबाट भक्त हमालले झापाका विशाल श्रेष्ठलाई एउटा नम्बर उपलब्ध गाराउँदै भने, ‘यो नम्बर भारतीयले बोक्छ । एक नेपाली चेलीलाई ८ बर्षदेखि बन्धक बनाएर रोखेको छ । उद्धार गर्नुपर्यो ।’
श्रेष्ठले धेरैपटक फोन गर्दा पनि नउठेपछि सन्देश पाठाए । आधा घण्टामै सम्पर्क भयो । नम्बर भारतीय युवतीको रहेछ ।
‘हामी एउटा आमाछोरीको घरम काम गर्छौ’, ती युवतीले आफ्नो भाषामा भनिन् – ‘उन (नेपाली युवती) लाई बाहिर कसैसँग सम्पर्क गर्न दिइएको छैन । कहिलेकाहीं मालिक्नीको आमाको घर जाँदा मैले मात्र भेट्छु ।’
ती युवतीले नेपाली युवतीलाई खुसुक्क आफ्नो मोवाइल दिइन् । ८ बर्षदेखि बन्धक रहेकी ती युवती थिइन्, पाल्पा दोभान २ की ३९ बर्षीया कमला दर्लामी मगर ।
दर्लामीलाई श्रम शोषण र बन्धक बनाएर राखेको खबर ती युवतीले भारतमा रहेका आफ्ना दाजुलाई सुनाएकी थिइन् । उनका दाजुले नेपालमा सम्पर्क गरेर परिवारलाई सूचना दिए ।
साउदी गएदेखि सम्पर्क विहीन मगर जीवितै रहेको खबर पाएलगत्तै परिवारले साउदीमौ रहेका छिमेकी भैरवसिंह सुनारलाई बुझ्न लगाए । उनी तावुकमा ड्राइभरको काम गर्थे । ती युवतीको नम्बर उनैले हमाललाई उपलब्ध गराएका थिए ।
कमलाले पहिलोपटक श्रेष्ठसँग फोनमा निकै मधुरो स्वरमा कुरा गरिन् । आफु त्यो घरबाट भागेर आउन नसक्ने बताइन् । साउदी मालिक/परिवारले थाहा पाउँछन् भनेर डराइरहेकी कमलासँग लामो कुरा हुन पाएन ।
त्यसपछि भने घरबाट भगाएर दूतावास लैजाने योजना बनाए श्रेष्ठले । कमला बस्ने किबाबाट रियादस्थित नेपाली दूतावास करिब ६० किमि टाढा थियो ।
श्रेष्ठ आफैले गाडीमा हालेर लैजान सक्ने अवस्था थिएन । बाटोमा प्रहरीले पक्रिहाले सिधै जेल जानुपर्ने खतरा थियो ।
श्रेष्ठ अलग्गै सिमबाट समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा नेपाली दूतावासँग समन्वय गर्थे । त्यसैबाट कमलाको विषयमा दूतावासलाई जानकारी गराए । कमलालाई ल्याउन घरसम्मै गाडी पठाउन दूतावास तयार भयो ।
कमला बसेको घरको लोकसन भारतीय युवतीले दिइन् । कमलालाई घर अगाडिसम्म आइपुग्ने समय दिएर तयार भएर बस्न लगाए ।
किबा निकै पुरानो गाउँ थियो । गाडीको आवतजावत कम हुन्थ्यो ।
कमलाको घर अगाडि दूतावासको गाडी पुग्यो । श्रेष्ठले अलि टाढा नै गाडी रोके ।
कमला घरबाट निस्केर दूतावासको गाडी चढ्नै लाग्दा साउदी नागरिकको गाडी आएर छेकिहाल्यो । उनीहरु केरकार गर्न थाले । श्रेष्ठ त्यो देख्नेवित्तिकै भागिहाले ।
साउदी नागरिकले प्रहरीलाई खबर गरिदिए । पहरीले दूतावासको गाडी र कर्मचारीलाई नियनत्रणमा लियो । साउदी अरबमा घरेलु कामदारलाई मालिकको सहमतिबिना लैजान नपाउने नियम छ ।
प्रहरीले दुई दिनसम्म गाडी नियन्त्रणमा राख्यो । दूतावासका कर्मचारीले नेपालीलाई बन्धक बनाएर राखेको भन्दै स्वदेश पठाइदिन प्रहरीसमक्ष अनुरोध गरे ।
कामदारलाई स्वदेश पठाइदिन मालिक पनि तयार भए ।
‘कसरी साउदीमा जिवन कटाएँ । त्यसको लेखाजोखा छैन’, कमलाले भनिन्, – ‘देश फकिृन पाएँ । नयाँ जिन्दगी पाएको छु । यसैमा खुशी लागेको छ ।’
आजको कान्तिपुर दैनिकबाट खबर छ ।