अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 02:37

बेलायती विद्यालयमा चक्कु निषेध

बिआरटीनेपाल २०७४ असार १४ गते १०:०८ मा प्रकाशित

लण्डन, असार १४ गते । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरूले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ ।

विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ ।

लण्डनका मेयर सादिक खानले सो जानकारी बुधवार दिनुभएको छ । उहाँले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने धारणा राख्नुभयो । पछिल्लो समयमा बेलायतमा चक्कु आतङ्क मच्चिने गरेको छ । यस वर्षमात्र बेलायतमा २४ जनाको चक्कु प्रहारबाटै ज्यान गएको छ ।

हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ वर्षमुनिका युवा रहेका थिए ।
युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिनुभएको छ ।

यस हप्तामात्र पनि लन्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएका तीन छुट्टाछुट्टै घटनाको सामना गरिएको प्रहरीले जनाएको थियो ।

गएको हप्ता लण्डनको प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो । उक्त प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा मात्र लण्डनका विभिन्न स्थानमा युवाहरूको साथबाट ५१८ वटा चक्कु फेला पारेको थियो ।

यो कार्बाहीपछि लण्डनको प्रहरी युवालाई चक्कु बोक्ने लत छुटाउन यस्तो नीति बनाउन आवश्यक रहेकोले विद्यालयमा छिर्ने द्वारमा नै उक्त उपकरण राख्ने निर्णयमा पुगेको बताइएको हो ।

बेलायतमा पछिल्ला केही समय यता आतङ्ककारी हमला र चक्कु प्रहार गरी हत्या गर्नेजस्ता हिंसात्मक घटनामा वृद्धि भएको छ । जसले गर्दा यहाँको प्रहरीले विभिन्न सुरक्षा मापदण्डहरु लागू गरिरहेको छ ।

त्यसै गरी मेयर सादिकले चक्कुले तिम्रो जीवनको रक्षा गर्ने नभई नष्ट गर्ने हो भन्ने सन्देशमूलक अभियानहरु सञ्चालन गर्न महानगरका हरेक समुलाय र नगरीहरुलाई विशेष आग्रह पनि गर्नुभएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू