एउटा पृथकता भित्र
गुज्रिरहेको याङ्वेल
गुरु रिम्पोछेका
मिथक कथाहरु बोकेर
यथार्थ जीवनसँग
समाहित त्यो याङ्वेल ।
तीनमहल दरवार घेरेर
मुसुक्क मुस्कुराइरहेछ ।
छातीमा रोपेका
भालाको विंद पक्रेर
चिहाइरहेछ
कोत तिमाल ।
अनि
काटिएका नाक माग्दै
काठमाडौंको
नारायणहिटी दरवारसँग
नारायण स्थान
कोरिरहेछ
एउटा नक्सा
अस्तित्व फिर्ता लिन ।
लामा बगरको
विभत्स इतिहासको
एउटा सुसाइड नोट कोरेर
षडयन्त्रका दहभित्र
आत्मदाह गरेको
युग रानी
दहभित्रै
कतै सल्बलाई रहेछ
छल्…छल्…छल्…..छल्…।
भोटेपाटी
अनि, मेच्छे
घोसेमुन्टो लगाई
उभिरहेछ
इतिहासको साक्षी बनेर
नियालीरहेछ
एउटा अस्तित्वको विज ।
हो याङ्वेलका
गेलुङ गुफाहरु
त्रासदी बोकेर
लुकाईरहेछ
एउटा मिथक कहानी ।
मानवताको दोरी बाटेर
नरमुन्द लपेटीएका
इतिहास बोकेर
गजक्क ,
ओडारभित्र ध्यानमा लिप्त
छ तोमसोम कुण्ड ।
ऐ मान्छेहरु
हेर तिन महल
घेरेर रहेका
भुमोसेरेलाई
लोपोन्छ्योइकुलाई
अनि सुरुङथुप र
मणिकालाई
तिमाल खोसिएको
थाना चौकी भित्रै
तिमाल कैड भएको
युग वितिसक्यो
ऐ हेर त
ति मान्छेहरु
किन सुतिरहेका ?
ति मिथक हरु
किन लोलाइरहेका
सायद,
हसनसक्छ
एउटा षडयन्त्रको अफिमको
धुवाँ धुम्मिएको छ
तिमालको आकासमा
याङ्वेलको आकासमा
ऐ तिमालबासी,
ऐ याङ्वेलबासी,
हेर मेच्छे पनि त्यस्तै देख्छु म ।
के अब
के व्युझने बेला भएन ?
आफ्नो गुमेको
अस्तित्व फिर्ता लिन ?
***समाप्त***