नर्थ क्यरोलाइना नेपाली साहित्य समाजको मासिक कवि गोष्ठी सम्पन्न भएको छ । तिन चरणमा विभाजित उक्त कवि गोष्ठी संस्थाका सचिव शिखर दुलालको निवास मोरिसभिल नर्थ क्यरोलाइनामा सम्पन्न भएको हो ।
कार्यक्रमको पहिलो चरणमा प्रत्यक महिना एक जना नेपाली साहित्य कला संस्कृतिका साधकको योगदानका बारेमा छलफल गर्ने परम्परा अनुसार यस महिनाका कवि अगमसिंह गिरीको व्यत्कित्व र कृतित्वको बारेमा चर्चा गरियो । कवि शिखर दुलालले कवि अगमसिंह गिरीको बारेमा छोटो प्रस्तुति दिएका थिए भने अन्य सहभागीहरूले उनका साहित्यिक जीवनका बारेमा थप छलफल गरेका थिए ।
कार्यक्रममा कवि गिरीको लोकप्रिय गीत ‘नौलाख तारा’ समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा युवा पुस्ताका लोकप्रिय कवि मनु मन्जिलको कृति ‘ल्याम्प पोष्टबाट खसेको जून’ का बारेमा चर्चापरिचर्चा गर्नुका साथै कवि मनु मन्जिलसंग उनको काव्य सिर्जना, ‘ल्याम्प पोष्टबाट खसेको जून’ भित्रका कविताहरू र समग्रामा समकालीन नेपाली साहित्यको अवस्थाका बारेमा प्रत्यक्ष कुराकानी गरिएको थियो।
नेपालबाट प्रविधिको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा आएका कवि मन्जिलसंग इश्वर देवकोटा, नम्रता गुरागाईं, विक्रम गौतम, शिखर दुलाल सुजाता ढुङ्गेल लगायत नर्थ क्यारोलाइनाका स्थानीय नेपाली साहित्यानुरागीहरूले विविध प्रश्नहरू राखेका थिए भने जवाफमा साहित्यले नयाँ चेतनाको विकास गराउनुपर्ने कुराम जोड दिंदै कवि मंजिलले अबका दिनमा नेपाली साहित्यका राम्रा कृतिहरुलाई अंग्रजी भाषामा समेत अनुवाद र प्रचार प्रसार गरी विश्वव्यापी प्रतिस्पर्धामा लानुपर्ने आवश्यकता औंल्याएका थिए ।
करिव दुइ घण्टा लामो प्रत्यक्ष वार्ताको क्रममा सहभागीहरुको अनुरोधमा कवि मनु मंजिलले आफुलाई मन परेको एउटा कविता समेत सुनाउनुका साथै विदेशमा बसेर पनि नेपाली साहित्यको श्रीवृद्धिमा उत्साहका साथ लाग्दै आफु र आफ्नो कृतिलाई सम्झेकोमा नर्थ क्यरोलाइना नेपाली साहित्य समाज परिवारलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको तेस्रो चरणमा स्थानीय कविहरू नम्रता गुरागाई, ऋषि बस्ताकोटी, शिखर दुलाल, सुवास ढकाल लगायतले आ(आफ्ना सिर्जनाहरू सुनाएका थिए ।
कार्यक्रममा आगामी जून ४ , २०१७ मा नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसलाई नर्थ क्यारोलाईना नेपाली साहित्य समाजले विशेष सम्मान र स्थानीय स्रष्टा शिखर दुलालको कविता संग्रह ‘यात्रा अविरल’को विमोचन गर्ने कार्यक्रम रहेको जानकारी समेत गराईएको थियो ।