यदि म कुनै कागज नै भए पनि,
नलेखोस् कुनै कुख्यात शब्द दलालीले
मेरो देशको इतिहास
भोको फुटपाथ र रित्तो खल्तिको कथा
झन्डा र सगरमाथाको ब्यथा !
यदि म कुनै पाना नै भए पनि,
लेख्दै नलेखोस कुनै भड्कन्ते प्रेमीले
प्रेमको पान्डुलिपी
दिल ब्यापारको बजारिया भाउ
एक्लोपनको छटपटाहट !
नछापोस् कुनै नेताले आफ्ना प्रचारहरु
नबनायोस् कुनै बालकले आफ्नो देशको मानचित्र
नकोरोस कुनै चित्रकारल आफ्नै जिन्दगीको चित्र
नउडायोस् कुनै गोठालोले, बनाएर मलाई आफ्नो पागलपनको कागजी हवाइजहाज
नबगायोस कुनै सन्काहा बच्चाले, कुच्चाएर मलाई आफ्नो खुसिको कागजि डुङ्गा
नदौडायोस् कुनै फकिरले बटारेर मलाई आफ्नो स्वतन्त्र उडानको कागजी फिरफिरे
नपुछोस् कुनै ब्रम्हचारिले आफ्नो स्पमको पित्को
नमुतोस् कुनै कुकुरले दुर्गन्धित नैराश्य
नथुकोस् कुनै अहम भरिएको विद्वानले पश्चातापको छिटा !
नलेखोस् कुनै दार्शनिकले आफ्नो बकबास् दर्शन
नछर्कियोस् कुनै मालीले सौन्दर्यशास्त्रको कुरुप विर्य
म माथी नजमाइयोस् कसैले पनि म माथी कुनै हक
नच्यातोस कुनै औंलाहरुले मेरो अस्तित्वको उपस्थिति
म एक सादा पाना हुँ
सादा रहेर नै ,
आफैसग आफ्नो अस्तित्वको लडाइँ लडिरहनेछु !!