आजकल अमेरिकी नेपाली समुदायमा रगतदान कार्यक्रम धेरै लोकप्रिय हुँदै गएको छ । न्यू योर्कका करिब ८० नेपाली संघ-संस्थामध्ये जुनसुकैले रक्तदान कार्यक्रम गरे पनि अधिकांश तिनै रक्तदाता दोहोरिन्छन् । यस सन्दर्भलाई अलि स्पष्ट पारेर भन्नुपर्दा करिब ९ वर्षअघि फर्कनुपर्ने हुन्छ, जब रगतदानको यसो जग बसेको थियो ।
शुरूका दिनमा ती रक्तदाता अलि नखुलेका जस्ता, हिच्किचाएका जस्ता देखिन्थे । एक अर्थमा भन्नुपर्दा रगतदान गर्न डराउँथे । एकपटक रगतदान गरी हाले पनि अर्को पटक आउँदैनथे । उदाहरणका लागि सन २००८ देखी २०१० सम्म न्यूयोर्कमा ९ वटा रक्तदान कार्यक्रम भए । ति सबैमा अधिकांश नयाँ रक्तदाता हुन्थे । त्यस्तै सेप्टेम्बर २६, २०१० का दिन रक्तदान कार्यक्रममा उपस्थित भएकामध्ये ५७ जनाले रगतदान गर्न नाम लेखाए । तिमध्ये हाइ ब्लड प्रेसर, लो आइरन, औलो प्रभावित भएका ठाउँमा भ्रमण गरेका कारण १७ जनाले रगत दिन पाएनन । २६ जना पहिलोपटक रगतदातासहित जम्मा ३५ जनाले रगत दान गरे । यहाँ ७४ प्रतिशत नयाँ रक्तदाता थिए । त्यसपछी २३ वटा रक्तदान कार्यक्रम भए । हरेक कार्यक्रममा अलि-अलि नियमित रगतदाता पनि दोहोरिन थाले ।पहिलो पटक रगतदान गर्नेहरू पनि थपिन थाले । यो क्रम यसरी चलिरह्यो । अब करिब ९ वर्षपछि हामी आइपुग्दा प्रगति त भएको छ, तर नयाँ रक्तदाता थप्ने कामले पनि गति पाएको छ ।
मार्च २६, २०१७ मा रक्तदान कार्यक्रममा उपस्थित भएकामध्ये ६७ जना रगतदान गर्न गए । तिमध्ये ४८ जनाले होल ब्लड र १० जनाले डबल रेड सेल दान गरे । ब्लड प्रेसर हाइ, एन्टिबायोटिक औषधी सेवन तथा औलो प्रभावित भएका ठाउँमा भ्रमण गरेका कारण ९ जनाले रगत दिन पाएनन । १२ जनाले पहिलोपटक रगतदान गरे ।
यसरी ७९.४ प्रतिशत नियमित र २०.६ प्रतिशत पहिलोपटक रक्तदाताले रगत दान गरे । “लौ, रगतदान गर्नुपर्छ । जुटौ” भनेर मैले गरेको होस्टेमा गतिलो खालको हैंसे मिल्न थालेको छ । यसो भनौं न मेरो उद्देश्य अधिकांश रगतदातालाई पुन: नियमित रगतदान गराउनु र नयाँ रगतदाताहरू पनि थप्न उत्प्रेरित गर्नु थियो । त्यो सफल भएको छ । यो औधी खुसीको समय हो । लाखौं नेपालीहरुमा “रगत दान गरौ” भन्ने सन्देश प्रभाह गर्न सफल भएको छु । रगत दान गरौ भन्ने मेरो अभियानमा सकारात्मक भावना भएका थुप्रै रक्तदाताहरुको सहयोगले यो सम्भव भएको हो ।