अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 07:48

उ संग बिताएको २ रात

सुषमा देवकोटा २०७३ चैत १७ गते ९:५२ मा प्रकाशित

हिजो साँझैबाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसै गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो । अफलाईन म्यासेज गर्न मन लागेन ।

घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी- ‘छोरालाई सन्चो छैन के गर्ने होला’ ?

कुनै चासो नै नदेखाई भनें, ‘जंचाउन लैजाउ न त’

अफिस पुगेर फेरी फोन गरें उसलाई, मोवाईल अफ नै रहेछ । काममा मन नै लागेन, अफिसको क्यान्टीनमा चुरोट पिउन नपाईने हुँदा बाहिर निस्केर एउटा पसल छिरें र एक कप चिया र चुरोट पिएं । मन साह्रै असान्त थियो, उ देखेर रिस पनि उठ्यो कमसेकम मेरो मनले के सोच्ला भनेर त बुझ्नु पर्ने नी ।

२ बज्यो यो बिचमा मैले उसको अफ भएको मोबाईलमा धेरै पटक फोन गरें । झट्ट सम्झीएं, उ कहिले काहीं कुरा गर्दा गर्दै बिना प्रशंग बोलिदिन्छे मलाई जीन्दगी प्रती मोह छैन, म कुनै पनि बेला मर्न सक्छु । तिमीलाई त म मरेको थाहा पनि हुँदैन ।

मैले यो कुरालाई कैलेहि गम्भीर रुपमा लिएको थिहिन, नचाईने कुरा नगर किन मर्ने । यो भन्दा बढि मैले कैलेहि केहि भनिन । उ किन बारबार मलाई यो कुरा सुनाउँथी मलाई थाहा छैन, हुन सक्छ उ सुन्न चाहन्छे म यो भनुँ की तिमी मरेउ भने म एक्लो हुनेछु सन्ध्या । तर यो मैले कैलेहि भनिन । हिजो देखि उसको फोन अफ हुँदा डर लाथ्यो, कतै उसले आत्महत्या त गरिन ।

हतपत म्यासेज गरें,’ काहाँ छौ तिमी ? फोन पनि अफ छ, साह्रै याद आईरएको छ तिम्रो ।’

म्यासेज सेण्ट भयो,झट्ट सम्झीएं म्यासेज नगरेको भए हुने, साच्चै उसले आत्महत्या गरेकी भए यो म्यासेजले पुलिसको झमेला थप्न सक्छ । रिप्लाई आएन म्यासेजको ।

बिरामीको बहाना बनाएर छिट्टै निस्कीएं अफिसबाट । घर पुग्दा श्रीमती छोरालाई औषधी ख्वाउँदै थिई, देख्नासाथ सोधि कीन छिटो आउनु भयो ?

‘तेस्सै ‘मैले छोटो उत्तर दिएं ।

कपडा फेरें, श्रीमतीले चिया दिंदै भनि ‘खाजा खानुभयो?’ अं खाईसकें’ फेरी अर्को झुट बोलें ।

हेक्का नै भएन तिमीले खाएउ त भनेर सोध्न पनि । उसो त म श्रीमतीले के खाई ,के लगाईमा ध्यान पनि दिंदीन । उसले चीत्त दुखाईन होली आजपनि,बानि परिसक्यो मेरो स्वभावको उसलाई ।

श्रीमती गै सकेपछि सम्झें छोरालाई औसधी ख्वाउँदै थिई, के भएको रहेछ भनेर सोध्नु पर्ने मैले ।

मेरो ध्यान सन्ध्याकै फोनमा थियो । यस्तो त कैलेहि भएको थिईन म । सन्ध्या मेरी फेसबुक फ्रेण्ड हो । ब्याचलर पढ्दै गरेकी २० बर्षकी सन्ध्यालाई मैले भेटेको पनि छैन, फोनमा कुरा हुन थालेको २ महिना भयो, तर म झापा र उ काठमाडौं भै दिंदा भेट्ने रहर रहरै बनेको छ ।
म भन्दा १४ बर्ष कान्छी त्यो केटीले म मा ठुलै प्रभाव जमाएकी छ । उ भित्रको बिचार, कुरा गर्ने शैली र मलाई बुझ्ने क्षमताले गर्दा म आजकल उसकै उमेर छेउछाउको पागल प्रेमी बनेको छु । उसको र मेरो सबैभन्दा मिल्ने स्वभाव किताव पढ्नु हो । उसलाई साहित्यमा साह्रै रुचि हुनु र म अंग्रेजी साहित्यको प्रोफेसर हुनुले पनि हामीलाई बाँधेको छ, जस्तो लाग्छ ।

फेरी श्रीमतीले ध्यान भङ्ग गरिदीई, ‘एकछिन बाबु संग बसिदिनुस् न, म पसल जानु छ ।’ हजारको नोट दिदैं भनें, ‘जाउ म हेर्छु । ‘

‘पर्दैन पैसा म संग नै छ,’ उ ढोकाबाट निस्केको हेरिरहें ।

मेरी श्रीमती साह्रै सोझी छ, कुनै कुराको गुनासो र माग गर्दिन । सबैले उसको रुप र गुणको तारिफै गरेको सुन्छु । आमा गर्विलो हुँदै भन्नुहुन्छ, मैले हेरेर ल्याएकी बुहारी पो हो त, यति माया त छोरीले पनि गर्दैनन् ।

एकदमै कम बोल्ने स्वभावकी छ उ । मास्टर्स गरेकी मेरी श्रीमतीको अहिले सम्म फेसबुक छैन । सिउँदो भरि सिन्दुर लगाउँछे उ, आज सम्म देखेको छैन उसले अध्यारो अनुहार लगाएको । ठुला ठुला आँखा, मिलेको दाँत, बाधेपनि बाटेपनि उत्तीकै सुहाउने उसको लामो कपाल । यी सबै कुराले उ म भन्दा दसौं गुणा राम्री छ ।

सबै साथी भन्छन् भाग्यमानी रैछस्, भाउजु जस्तो असल श्रीमती पाईस् । हाम्रो जस्तो कचकचे बुढी पर्यो भने लाईफ तेसै खेर जान्छ । मलाई अरुको श्रीमतीले श्रीमानलाई गरेको ब्यबहार देख्दा म भाग्यमानी नै हुँ की झैं पनि लाग्छ । माया लाग्छ मेरी श्रीमतीको मलाई । तर पनि मनमा उसको स्वभावले गर्दा केही दुरी बढेको झैं लाग्छ । उ टीपीकल बुहारी छ, म छु मनको चन्चल ।श्रीमतीको यो खाले स्वभावले गर्दा म पनि घरमा टीपीकल हजबेण्ड बनेको छु । श्रीमती कैलेहि ठुलो स्वरले नबोल्ने, जीस्काए पनि संधै लाज मान्ने, अह्राएको काम खुरुखुरु गर्ने,जीद्दी नगर्ने, हुँदा पनि केटा मान्छेले रित्तो महशुष गर्दो रहेछ ।

मेरो रित्तोपन र चन्चल स्वभाव आजकल फेसबुकमै सिमीत हुन थालेको छ । फेसबुकमा भेटीने कोही केटी संग रमाईला रमाईला कुरा गर्ने बानी परेको छ । यहि बानीले भेटीएकी सन्ध्या आजकल मलाई सबैभन्दा खाष लाग्न थालेको छ । सन्ध्या संग कुरा हुन थालेपछि मैले अरु केटीसंग च्याट पनि गर्न छोड्दिएको छु ।

५ बज्यो सन्ध्यालाई फेरी फोन लगाएं, यस पटक फोन लाग्यो र उठाई पनि । फोन उठाउना साथ आँफै बोल्न थाली, ‘सरि बेबी, हेरन मेरो मोवाईल बिग्रको थियो, हिजै बनाउन दिएको अहिले भर्खर लिएर आएं । तिमीलाई म्यासेज पठाउन लाग्दै थिएं, तिमीले नै फोन गरेउ ।’ उ साह्रै मायालु भएर बोली ।

भन्न त मन थियो मलाई,’ दिनभरी आत्तीएं म, अफिसमा काम गर्न मन नलागेर घर आएं, खाजा पनि खाईन मैले’ तर खै कीन यी कुरा भनीन मैले

रीसाउँदै भनें ‘मोवाईल बिग्रीए पनि बाहिर कतै त फोन हुँदो हो नी, एक कल फोन गर्न सकीनौ ?’

‘नरिसाउन। आज एकछिन फुर्सद भएन कलेजमा । हेर चिया सम्म खाएको छैन, प्राक्टीकल सकेर निस्कंदा भोकले मर्नै लागेको थिएं, तै पनि खाजा नखाई मोवाईल बनाउन दिएको ठाउँमा पुगें,’ उ लाडे पल्टदैं बोली ।

म आज सम्म आफ्नी श्रीमती संग कैलेहि झर्केर पनि बोलेको छैन, रिसाउनु पर्ने ठाउँ नै दिंदीन उ । तर सन्ध्या संग झगडा नै गर्न तम्सन्छु । सानो बच्चालाई झै फकाउछे उ, सम्झाउँछे र कहिलेकाँही गाली पनि गर्छे । खुब राम्रो लाग्छ यी सब मलाई ।

दिन यसरी नै बित्दैगए, एक दिन म सन्ध्यालाई भेट्न काठमाडौं जाने भएं । रात्री बसमा काठमाडौ जाँदै थिएं एक पटक पनि निदाउन सकिन । मनमनै सोचें, उ कस्ती होली, केटाको उत्तउलो मन राती संगै बस्न पाए हुन्थ्यो भन्ने पनि सोचें । बिहान ९ बजे काठमाडौको नयाँ बसपार्क झरें, उ लिन आएकी थिई, चिनीहाली उसैले बसबाट झर्नासाथ । सोचेजती राम्री नलागेपनि हेर्नमा ठीकै थिई सन्ध्या । हाप पेन्ट र डार्क ब्लु रंगको टिसर्टमा उ सानो तिनो मोडल नै लागी मलाई ।

देख्नासाथ ‘हाई समिर’ भनेकी उसले मैले कुनै उत्तर दिन नपाउँदै छातिमै टाँसिन आईपुगी । मैले पनि आफुलाई चलचीत्रको हिरो नै सम्झीएं त्यो बेला । म अलमल भएको देखेर उ नै बोली ‘खाना बनाएर आएको छु गएर खाने अब ।’

‘तिम्रो कोठामा जान मिल्छ र ?’

‘अनि कहाँ बसुलाँ भनेर आएको त ? तिमी त्यति टाढा बाट मलाई भेट्न आएको छौ, मैले कोठामा पनि लगिन भने त तिमी माथि अन्यानै भै हाल्यो नी’ उ जीस्कीई ।

ट्याक्सीमा उसको चावहिलमा रहेको कोठामा पुगें । सिङ्गै फ्याट लिएर बसेकी रहिछ । फ्ल्याटको सजावट हेर्दा हुनेखाने परिवारकी छोरी रहिछे भन्ने लाग्यो । आफुले कलेज पढ्दा एउटा कोठा लिएर स्टोपमै खाना बनाएर खाएको दिन सम्झें ।

खना खायौं, उसको जीस्कने बानी, चन्चले स्वभाब, बैंसालु यौवन सबै मेरो अगाडी थियो । ‘तिमी एकछिन सुत म कपडा धुन्छु’ भनि उसले ।

रातभरीको अनिदो थिएं, उसको बेडमा निदाएं । २ बजे उसले उठाएर भनि ‘अव राति सुत मेरो सपिङ गर्नु छ, सिटी सेन्टर जाउँ ।’ हामी कमलपोखरी स्थीत सिटी सेन्टर पुग्यौं, उसले चाहिएजती सामान किनी, १५ हजारको बिल भएछ, मैले नै तिरिदीएं ।

मुभी हेरेर फर्कने सल्लाह भयो, फिल्म सकेर राती फर्कीयौं हामी । बाहिरै खाना खाएर जाने भन्न थाली उसले, क्यान्डील लाईट डिनरको उसको रोमाञ्चकतामा मैले साथ दिएं ।

कोठामा फर्कीए पछि उ पल भरको लागि म संग छुट्न नचाहेझै टांस्सीरहि । ममा फेरी एउटा बैसको दिन फर्कीएको थियो । उसले मलाई गरेको मायामा एक तमासको भएको थिएं ।

आजै भेटेकी युवती मलाई जन्मौं पुरानी प्रेमीका लाग्दैथिई । हामी एउटै ओछ्यानमा थियौं, मैले एक पटक पनि आफ्नो ५ बर्षको छोरा र शुशिल श्रीमतीलाई सम्झीईन । पश्चतापको त कुरै थिएन म सन्ध्यालाई माया गर्थे । समर्पणकै कुरा गर्ने हो भने म एउटा बिबाहितले के त्यागें होला र जबकी एउटा अन्जान ब्यक्तीको अंगालोमा बिश्वासको भरमै आफुलाई हराईदीई उसले । यो मन, तन र जीवनमा तिम्रो पुरापुर अधिकार छ समीर उसले बढो भावुक भएर भनेकी थिई ।

बिहान उठ्नासाथ उसले आज नगरकोट घुम्न जाने भन्न थाली । मलाई यो शहरमा कसैले नचिन्ने हुँदाँ स्वतन्त्र पंक्षी भएको थिएं । १० बजे नगरकोटको लागी निस्कीयौं । दिनभरी घुमेर बेलुका त्यहींको रिसोर्टमा बसेउँ । म सन्ध्या जस्तै श्रीमती चाहन्थें तर समयले मलाई बेग्लै श्रीमती जुराएको थियो ।

भोलीपल्ट बिहान १० बजे घरबाट आमाले फोन गर्नुभयो, छोरा लडेर निदारमा ५ वटा टाँका लगाएको छ , हस्पीटलमा राखेको छ भन्ने खवरले घर जानु पर्ने भयो । नगरकोटको रिसोर्टको बिल बुझाएर हामी फर्कीयौं । म छोराकोे निदारमा टाँका लगाउनु परेको कुराले तनावमा थिएं, सन्ध्या म आज फर्कदै छु भन्ने कुराले उदास थिई । बाटोमा सामान्य कुरा मात्र भयो । सिधै नयाँ बसपार्क गएर रात्रीबसको टीकेट लिएं ।

सन्ध्याको मौनताले उ प्रति झनै माया लाग्यो । मैले छोरा बिरामी भएको खबर संगै उसको त्यती वास्ता नगरेकोमा उसले के सोचीहो जस्तो लाग्यो । भनें ‘सन्ध्या बेलुका ५:३० को टीकट छ, अझै केहि समय म तिमी संगै छु, कतै नजीक घुम्न जाउँ ?’

उसले आँखा भरी आँसु पारेर भनी ‘तिम्रो नामको सिन्दुर त दिन्छौ दिंदैनौ । मलाई तिम्रो नामको औंठी लगाईदेउ ।’ उल्झन थपियो अर्को, पैसा कम थियो, बैंक खोजेर २० हजार झिकें र उसको ईच्छा अनुसारको औठी किनीदिएं र लगाईदीएं ।

उदास आँखाले बिदा गरि मलाई सन्ध्याले । छोरालाई घरमा ल्याई सकेको थाहा पाएपछि सिधै घर पुगें । अफिसको काम छ भनेर सन्ध्यालाई भेट्न पुगेको थिएं । सोझी श्रीमतीले म पुग्नासाथ स्पस्टीकरण दिई, ‘हजुर कामले काठमाडौं गएकाले मैले आमालाई बाबु लडेको कुरा नभन्ने भन्दै थिएं, आमाले मान्नु भएन ।’

मनमनै खुशी भएं स्पस्टीकण त मैले दिनु पर्ने तर तक्दीर बलियो मेरो ।

दिन फेरी सामन्य हुन थाल्यो उहि अफिस, यहि घर ,उहि दिनचर्या । फेरीएको थियो त सन्ध्या संग कुरा गर्ने तरिका । त्यो २ रात उ संगै बसेपछि मलाई उ संग खुलेरै बोल्न मिल्ने वातावरण बनेको थियो । उसका म्यासेज कैले आउँछौ र तिम्रो याद आउँछ साह्रै भन्ने शब्दले नै भरिन्थे ।

एक दिन उसले दिउँसो फोन गरि र रुन्चे स्वरमा भनि ‘समीर मेरो ममीको किड्नीमा स्टोन छ मैले यो कुरा तिमीलाई भनेको थिईन । के गर्ने गर्ने भएको छु आत्तीएर ।’ मलाई यो कुराले नराम्रो लाग्यो नआत्तीउ केही उपाए लाग्छ भन्दै थिएं उसले मेरो कुरा पुरा नहुँदै भनि ‘भएको पैसा ममीको उपचारमै खर्च भएको छ, भन्दा भन्दै ऋण पनि पाईएन । प्लीज हेल्प गरन म तिमीलाई तिर्छु ।’

‘कति चाहिएको ?’

मलाई ५० हजार पठाईदेउ । तिमीलाई दुख दिन मन थिएन तर भन्ने कोही नभएर मागेको । उसको बोलीबाट यो प्रस्ट हुन्थ्यो की उ अप्ठेरोमा छे ।

मैले भोली पठाईदिन्छु भनें । घर गएं, भाईले आमालाई सिक्री बनाईदिनु भनेर ७० हजार पैसा पठाएको थियो हिजो मलेशियाबाट । त्यो पैसा घरमै थियो । मैले एउटा काममा लगानी गर्नु पर्यो म १ महिनामा बनाईदिन्छु भनेर पैसा मागें । आमा के काममा भन्दै हुनुहुन्थ्यो, ‘राम्रो काम हो पछि भन्छु’ भनेर टारें । भालीपल्ट ५० हजार उसको अकाउण्टमा हालिदिएर २० हजार आफ्नो अकाउण्डमा राखें । उसले खुषी हुंदै धन्वाद दिई फोनबाट ।

यो बर्षको तिज भदौ २१ गते परेछ, श्रीमती अघिल्लै दिन माईत गई । तिजको दिन बिहानै फोन गरेर सन्ध्याले भनि ‘आज ममीको अप्रेसन छ । अरुलाई त तिज लागेको छ म भने हस्पीटलमा छु । तै पनि तिम्रो नाममा ब्रत बसेको छु ।’

उसको मायाको प्रमाण यहि थियो । सांझतिर श्रीमतीको फोन आयो ‘म घर आउँदैछु हजुरको गोडाको पानि खाएर फर्कन्छु ।’

आधा घण्टाको ससुराली भएकाले आउन जान सजिलो थियो । उ ७ बजे आईपुगी, पुजा सकेर मेरो गोडाको पानी खाई संधैको बर्षझैं । आमाले खाना यहिं खाएर जा भन्दै हुनुहुन्थ्यो उ बाबु छोडेर आएकाले जान्छु भन्न थाली । बाईकमा पुर्याईदिएं, तिजको बेलामा के ससुराली पस्नु जस्तो लाग्यो ।

सन्ध्याको फोन आईरहन्थ्यो, ममीको अप्रेशन पछि उ खुशी थिई । २ महिनापछि एकदिन राती ११ बजे उसको फोन आयो । श्रीमती संगै सुतीरहेकी थिई, २ पटक फोन काटें तेस्रो पटक उठेर बिस्तारै अर्को कोठामा गएं बत्ती पनि नबाली ।

फोन उठाएर’ के भयो सन्ध्या भनें ।’ जीस्कंदै ‘निद्र लागेन याद आयो’ भनि ।

मैले पनि ‘काठमाडौंको त्यो रात र तिमीलाई मिस गरेको छु ऐले सुत भोली फोन गर्छु’ भनें । उसले ‘सुनन सबै साथी ईन्डीया नैनीताल जाने भनेका छन्, मलाई पनि जान मन छ, पैसा छैन २० हजार पठाईदेउ न’ भनि ।

‘हेरन म संग पनि पैसा छैन अस्ती तिमीलाई पठाएको ५० हजार भाईले आमालाई भनेर पठाको पैसा हो । मैले घरमा झुट बोलेर तिमीलाई पठाएको’ भन्दै थिएं  उसले वके बाई भनेर फोन काटी । उसलाई फकाउन मिल्ने अवस्था थिएन, फर्केर कोठामा आउन लाग्दा श्रीमतीलाई मेरो पछाडी उभिएको पाएं ।म उभिएको उभिएै भएं ।

उ केहि नबोली कोठामा आई पछि पछि लागें म । कोठामा आएपछि उ झगडा गर्न थाली, ‘मैले तपाईलाई आँखा चिम्लीएर बिश्वास गरें, जहाँ गएपनि जतिबेला आएपनि कैलेहि सोधिन । यहि बिश्वासको फाईदा उठाएर काठमाडौ सम्म केटी भेट्न पुग्नुभयो । सबलाई ढांटेर तेत्रो पैसा त्यो केटीलाई खर्च गर्दा सम्म म सोझी लोग्नेले राम्रै गरेको होला भन्ने सोचीरहें’ उ रुन थाली ।

कैलेही नरिसाउने र नबोल्ने मेरी श्रीमती ठुलो स्वरमा बोलेकी थिई, त्यो पनि मेरो गल्ती समाएर । ७ बर्ष सम्म कैलेहि गुनासो नगरेकी श्रीमती रोईरहेकी थिई । मैले फकाउने कोषीश गरें तर आज उ हिजोकी श्रीमती भएर प्रस्तुत भईन । झगडाले ठुलै रुप लियो, जति सम्झाउँदा पनि उ साम्य नभएछि जे मन लाग्छ गर मेरो गलफ्रेण्ड हो उ भनिदिए रिसको झोकमा ।

उ ‘अहिले नै यो कुरा आमालाई भन्छु र यो घरमा बस्दीन’ भन्दै उठी, आमलाई भन्न जान्छु भन्ने कुराले साह्रै औडाह भयो मलाई, रिसमा पुरोहितले बेद पढ्दैन भन्ने उखान झैं भयो, ढोकामा पुगेकी श्रीमतीलाई फर्काउन खोज्दा नमानेपछि हात छोडें मैले ।

उ रातभरी रोईरहि, बिहान आमा ओछ्यानमा कराउँदै आउनु भयो,’य नकचरो मेरो घरबाट निस्कीहाल तं । दुनिया बिग्रेका केटी संग लागेर स्वास्नी कुट्ने कुलङगार, त्यस्ती राम्री श्रीमती र छोरा हुँदाहुदै बरालीएर हिड्ने थुक्क तेरो बुद्धी । मेरो कान्छो छोराले कति दुखले कमाको पैसा तरुनी पोस्ने । ‘आमाले जानेजती गाली गर्नुभयो ।

आमाबाटै थाहा भयो उ माईत गईछ, छोरा बोकेर । झन् रिस उठ्यो सोझी भनेको त यस्ती अटेरी पो रैछे ।

भात नखाई अफिस गएं, सन्ध्यालाई फोन गरें उसले फोन उठाईन, पछि फोन काट्न थाली, म्यासेज पठाई मलाई फोन नगर भनेर। बिचरा साथीहरु संग नैनिताल जान नपाएर रिसाकी होली रिस शान्त भएपछि फोन गर्छे भनेर ढुक्क भएं । साँझ अबेर घर फर्कीएं, आमाको अगाडी पर्न मन थिएन, आफ्नो कोठामा छिर्दै थिएं जेठानको फोन आयो, फोन उठाएको के थिएं जेठान कराउन थाले ।’ के हो तपाईको पारा, यत्तीको पढेलेखेको मान्छेले लाज पनि मान्नु पर्ने, मेरो बैनी सस्तो भएर दिएको होईन, तपाईले जति उसले पनि पढेकी छ, ईज्तको परिवारकी छोरी भएर घर सम्हालेर बसेकी छ ।’ उनि बक्कीए., के जवाफ दिनु, होईन भन्ने बाटो नै थिएन, माफ पाउँ जेठान भन्न बचेंखुचेको अभिमानले दिएन, फोन काटीदिएं ।

छोरा नहुँदा घर सुन्य भएको थियो अरु खाषै केहि भएन, ससुरालीले ठुलो कुरा गर्न थाले भने सन्ध्यालाई ल्याएर देखाईदिन्छु भन्ने सम्म सोचें दुईवटा श्रीमती कसको हुन्न र ?

तर सन्ध्याको फोन आएको थिएन, बेलुका पनि अनलाईन देखिन, उसको टाईमलाईन हेर्न खोज्दा थाहा भयो उसले मलाई अन फ्रेण्ड गरिछ ।
सन्ध्याको कारण यो तमासा भएको छ घरमा,उ भने पैसा नपाएर रिसाई । मैले उसलाई गरेको माया र सहयोग भुली उसले । त्यो दिनबाट उसको फोन उठेन ।श्रीमती माईतमानै थिई, आमा उसलाई र छोरालाई भेट्न गएको थाहा हुन्थ्यो । मेरो र आमाको बोलचाल कम भएको थियो ।

२ महिना पछि एक दिन सन्ध्याको साह्रै याद आयो, उसको फेसबुक हेर्न मन लाग्यो, तर मलाई ब्लक गरेकी रैछ उसले । एउटा फेक आईडी खोलेर उसको फेसबुक हेर्दा छाँगाबाट खसेझै भएं ।

उसले १ महिना पहिले फेसबुकमा ४ वटा फोटो अप्लोड गरेकी रहिछे, गएको तिजमा हामी आमा छोरी नाच्दै भनेर उसको आमा र उसको ३ वटा फोटो राखेकी रहिछे । संगै एउटा केटा संगको फोटो पनि । क्याप्सनामा लेखेकी थिई तिजको ब्रत उसको लागि,कस्तो छ मेरो र उसको जोडी ? कमेण्टमा सबैले बधाई र राम्रो जोडी भनेका थिए ।

हेरेर हैरान भएं, उसले तिजको दिनमा ममीको अप्रेशन छ हस्पीटलमा छु भनेकी थिई । तिम्रो लागि ब्रत बसेकी छु भनेकी थिई ।
त्यही आईडीबाट म्यासेज गरे, किन गरेउ यो सब नाटक ?

उसको उत्तर यस्तो थियो, तिमी आँफैले मलाई फेसबुकमा एड गरेको हौ, तिम्रो स्वभाव जस्तो थियो मैले त्यस्तै ब्यवहार र कुरा गरें । तिमी साहित्यमा राम्रो ज्ञान भएको मान्छे हौ भन्ने थाहा पाएर मैले आफुलाई साहित्य मन पर्ने भनेको थिएं । तिमीलाई के लाग्यो म एउटा छोराको बाउलाई ब्वाईफ्रेण्ड बनाउँला ? बाँकी रह्रो तिमीले गरिदीएको सपिङ र ५० हजार पैसा त्यो त मैले तिमी संग बिताएको २ रात मै चुक्ता भै सक्यो ।
devkotasushma7@gmail.com

.