कविता
तल हामी निरीह जनता
अनि माथि हे सरकार!
चुरोटका कति कति बट्टाहरू
अनि थरी थरीका आकार प्रकार
बुझ्न मुस्किल अति गाह्रो
आखिरमा यसको के भेद छ
त्यैपनि लेख्छ ती बट्टाहरूमा
धूम्रपान निषेध छ ।
चलिरहेछन् नरोकिइकन
ह्वास्स निकोटिन गम्किने
ठुला ठुला कलकारखानाहरु
विज्ञापन गरी गरी चम्किने
निषेध छैन कलकारखाना खोल्न
कहाँ बजारमा लैजान निषेध छ ?
निषेध छैन पैसा तिरेर किन्न त्यैपनि
लेख्छ “धूम्रपान निषेध छ।“
हरेक सर्को कति हानिकारक
कतिलाई रोग लागि क्यान्सर सम्म
त्यस रोगको उपचारलाई खुलेका अस्पताल
रिसर्च देखि जाँच्ने डाक्टर सम्म
किन खान तयार पार्ने यस्तो विषाक्त?
खाउँ खाउँ लाग्नेले पसलमा देख्ने
असुलेर चुरोटमा एकदम मँहगो भाउ
पल्काउन “धूम्रपान निषेध छ“ लेख्ने ?
धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान
बर्सेनि कतिले गुमाइरहेछन् ज्यान
कसलाई फाइदा छ यो कालको खेतीले
निर्मुल गर्नेतिर छैन कसैको ध्यान
खान नहुने भए किन बनाइन्छ
देशको कुनाकाप्चा सप्पै पुर्याइन्छ
न बनाउन अनुमतिदिनेलाई सजाय छ
निषेध भन्दै खान अझ सुर्याइन्छ
कतिपय देशमा खाने उमेर तोकिन्छ
हानिकारक चिजमा पनि किन यस्तो ?
आइ डी कार्ड चेक गराइ पाएपछि
भुराभुरीलाई संसारै जिते जस्तो
प्राण लाने विषलाई किन रोक्न सकिन्न
कि यसमा अपार सम्पति कमाउने भेद छ
दया भए उन्मुलन गर सुर्ती र चुरोटलाई
सानो अक्षरमा नलेख “धूम्रपान निषेध छ।“