बुटबलका विनोद मल्ल (नाम परिवर्तन) केही महिना अगाडि अमेरिका छिरे गैरकानुनी रूपमा मेक्सिकोको सीमा पार गरेर । उनी अमेरिका आइपुग्दासम्म झन्डै १ करोड रुपैयाँ खर्च भइसकेको छ । उनले नेपालमा दलाललाई ३४ लाख नेपाली रुपैयाँ बुझाए । हिडेर अमेरिका आउने क्रममा बाटोमा पकेट खर्च ३ लाख खर्च भयो भने अमेरिका आइसकेपछि उनी अमेरिकी सुरक्षा अधिकारीहरुबाट सिमाक्षेत्रमा समातिए । त्यसपछि अमेरिकी सरकारले धरौटी बापत ४३ हजार अमेरिकी डलर लियो । त्यसपछि उनी रिहा भए त्यो पनि खुट्टामा जीपीएस सहित ।
विनोदको खुट्टामा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको इन्टेसिभ सुपरभिजन एपियरेन्स प्रोगाम एण्ड इलेक्ट्रोनिक मनिटरिङ प्रोगाम अन्तरगत जीपीएस नेल झुण्डाइएको छ । जसबाट उनी कतिबेला कहाँ जान्छन् भन्ने ट्रयाकिङ हुने गर्छ । उनी भन्छन् —‘अमेरिकामा यसरी खुट्टामा नेलजस्तो जीपीएस लगाएर हिड्नुपर्ला भनेर सोंचेको थिइन । खुट्टामा जीपीएस लगाएर हिडडुल गर्दा, बस्दा, सुत्दा, नुहाउँदा निकै अप्ठ्यारो हुने गरेको छ । कपडा माथि सारेर बस्दा पनि लाजमर्दो अवस्था छ ।’
त्यस्तै हालै अमेरिका आईपुगेका पर्वतका हिमाल लम्सालको खुट्टामा पनि युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको जीपीएस रहेको छ । उनी न्युयोर्कबाहिर गए भने त्यसमा एकप्रकारको सङ्केत आउने गर्छ । र उनलाई न्युयोर्कभित्र नै फर्कन आदेश दिइन्छ । लम्साल भन्छन् —‘हामीलाई निश्चित क्षेत्रभित्रमात्र हिडडूल गर्न तोकिएको छ । त्यो क्षेत्रभन्दा बाहिर जानासाथ उनीहरू (युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट) ले थाहा पाइहाल्छ । त्यसैले जेलभित्र नभएपनि जेलमै रहेको अनुभव भएको छ ।’
विनोद र हिमाल मात्र होइन, अहिले खुट्टामा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको जीपीएस बोकेर हिँड्ने नेपाली युवाहरू छ्याप्छ्याप्ती भेटिन्छन् । जीपीएस लगाउनुपर्दा उनीहरूमा एकप्रकारको त्रास र तनाव हुने गरेको छ । अधिकारीहरू बेलाबेलामा जीपीएस चेक गर्न आउने, बेलाबेलामा जीपीएस चार्ज गर्नुपर्ने, उनीहरूको तोकेको क्षेत्रभन्दा बाहिर जानासाथ चेतावनी सङ्केत प्राप्त हुने भएकाले जीपीएसबाट एकप्रकारको मानसिक तनाव सृजना हुने गरेको उनीहरू बताउँछन् । लम्साल भन्छन् —‘यो लगाउनुपर्दा निकै तनाव भएको छ । तर कम्तीमा जेलमा बस्नु परेको छैन । बाहिर निस्केर काम गर्न पाइएको छ । त्यसैमा सन्तोष मान्नुपरेको छ ।’
खुल्ला जेलको अवधारणा
अमेरिकी सरकारले सन् २००४ देखि खुल्ला जेलको अवधारणा अन्तरगत नै खुट्टामा जीपीएस लगाउने नियम ल्याएको हो । इमिग्रेशन जेलको तुलनामा पक्राउ पर्नेहरु कैयन गुणा बढी हुनेभएकाले इमिग्रेशन जेलको भार कम गर्न यो अवधारणा ल्याइएको हो । यही अवधारणा अन्तरगत खुट्टामा जीपीएस नेल लगाएर छाडिने नेपालीको सङ्ख्यामा केही समय यता उल्लेख्य वृद्धि भइरहेको छ ।
अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अन्तरगत रहेका डिटेन्सन सेन्टर अर्थात् जेलहरुको क्षमता झन्डै ३१ हजार रहेको छ । एकपटकमा ३१ हजार भन्दा धेरै व्यक्तिलाई अमेरिकाले अध्यगमन जेलहरुमा राख्न सक्दैन । तर अमेरिकी सरकार विभिन्न निकायले वर्षमा लाखौँ व्यक्तिलाई नियन्त्रणमा लिने गर्छ । त्यसैले नियन्त्रणमा लिइएका व्यक्तिमध्ये कैयनलाई अमेरिकी सरकारले खुट्टामा जीपीएस लगाइदिएर खुल्ला जेलमा राख्दै आएको छ ।
गत आर्थिक वर्ष अर्थात् सन् २०१६ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकाका सिमाक्षेत्र र विमानस्थल लगायतका स्थानमा ५ लाख ३० हजार २ सय ५० जनालाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये अमेरिकी सीमा सुरक्षा बलले पक्राउ गरेकाहरु ४ लाख १५ हजार ८ सय १६ जना रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सन् २०१६ मा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले पक्राउ गरेकाहरु १ लाख १४ हजार ४ सय ३४ जना रहेका थिए । यसरी पक्राउ परेकाहरुमध्ये कैयनलाई अमेरिकाबाट देशनिकाला गरिएको थियो भने कैयनलाई खुट्टामा जीपीएस नेल लगाएर छाडिएको छ । ती मध्ये ठुलो सङ्ख्यामा नेपालीहरू पनि छन् । तर नेपालीहरू कतिजनाको सङ्ख्यामा छन् भन्ने यकिन तथ्याङ्क भने उपलब्ध छैन ।
जीपीएसको पीडा
इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले सन् २००४ देखि यसरी अमेरिकामा आप्रवासीहरुलाई खुट्टामा जीपीएस नेल लगाएर छाड्ने गरेको छ । इन्टेसिभ सुपरभिजन एपियरेन्स प्रोगाम अर्थात् आईस्याप कार्यक्रमका लागि बीआई इन्कर्पोरेटेड नामको कम्पनीले सघाउदै आएको छ । यही ठेकेदार कम्पनीले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टलाई जीपीएस उपलब्ध गराउनेदेखि ट्याकिङमा सघाउनेसम्मको काम गर्दै आएको छ ।
न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठ भन्नुहुन्छ —‘यो एक प्रकारको खुल्ला जेल नै हो । निषेधाज्ञा लगाइएजस्तै यो लगाइएको व्यक्तिलाई घरबाट निस्कने, घर फर्कने वा अर्को राज्यमा जाने सवालमा एकप्रकारको निषेधाज्ञा लगाइएको हुन्छ । भनेको ठाउँमा जान वा भनेको समयमा घरबाहिर जानआउन समेत पाउँदैनन् । त्यसैले यो एकदमै असजिलो भएको पीडितहरुको गुनासो छ ।’
खुट्टामा जीपीएस लगाइरहेका हिमालको गुनासो पनि यस्तै छ । उनी दुखेसो पोख्छन् —‘जेलमा त बस्नु परेको छैन । तर जेलमा बसेजस्तै भएको छ । न्युयोर्कमा बस्ने भनेर बयान दिइयो । अहिले जीपीएसका कारण न्यु योर्क बाहिर जान मिल्दैन । अब म न्यु योर्क छोडेर बाहिरको राज्यमा जान पनि सक्दिन । न्युयोर्कमा कोठा भाडा तिरेर, आठ घण्टा मात्रै काम गरेर मैले कहिले ऋण तिर्नु ?’
खुट्टामा लगाइने यो जीपीएस नेलबारे आफ्ना सेवाग्राहीहरुले गुनासो गर्दै आएको र कतिपय आफूले प्रतिनिधित्व गरेका मुद्दामा जीपीएस नेल फूकाइएको न्युयोर्कका अर्का चर्चित कानुन व्यवसायी बासु फूलाराको अनुभव छ । बासु फूलारा भन्नुहुन्छ —‘यो लगाउनेहरुले खुट्टा सुनिने लगायतका समस्या आउने गरेको बताउने गरेका छन् । अधिकारीहरुले कुनै समस्या परे नपरेको लगायतका विषयमा सर्वेक्षण त गरिरहेका हुन्छन् । तर पनि पीडितहरुले निकै गाह्रो भएको गुनासो गर्दै आएका छन् ।’
खुट्टामा जीपीएस नेल, लाखौँको ऋण र कानुनी प्रक्रियाको झण्झटका कारण वाक्क भइसकेका सिन्धुलीका प्रकाश अर्यालले मलिन हुँदै भने —‘कुन सपना देखेर अमेरिका आएको थिएँ । अब अमेरिकामा कमैया भएर मर्ने भएँ । यसरी करोड सम्म लगानी गरेर आफ्नै देशमा केही गरेको भए परिवारसँग बस्न त पाइन्थ्यो । नेपालमा रहनुभएका कोही पनि यसरी करोड सम्म खर्च गरेर अमेरिका नआउनुस् । बरु दुईचारजना मिलेर त्यही रकमले नेपालमै केही गर्नुस् ।’
सजिलो छैन न्यु योर्क
डिपोर्टेशनको प्रक्रियामा रहेका वा जेलभित्रैबाट केस लड्नुपर्ने अवस्थामा रहेका रिलिफ पेन्डिङ अवस्थामा रहेकाहरु वा डिपोर्ट भइसकेकाहरुलाई समेत समय, परिस्थिति र केस हेरेर यो कार्यक्रम अन्तरगत खुट्टामा विद्युतीय उपकरण जडान गरेर छाड्ने गरिन्छ । डिटेन्सन सेन्टरको क्षमताका र बजेटका कारण उनीहरूलाई इन्टेसिभ सुपरभिजन एपियरेन्स प्रोगाम एण्ड इलेक्ट्रोनिक मनिटरिङ प्रोगाम अन्तरगत जीपीएस नेल लगाएर छाड्ने गरिन्छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको तर्फबाट ठेकेदार कम्पनीले जीपीएस डिभाइस व्यक्तिका खुट्टामा लगाएर छाड्ने गरिन्छ ।
मेक्सिको हुँदै अमेरिका छिर्ने नेपालीहरुमध्ये अधिकांशका सम्पर्क व्यक्ति न्यु योर्क निवासी छन् । त्यसैले उनीहरू न्युयोर्कमा नै जाने भनेर छुट्छन् । अर्कोतर्फ न्युयोर्कमा कानुन व्यवसायीलाई लिन सजिलो हुने भएकाले पनि अधिकांशले न्युयोर्कमा नै जाने बताउँछन् । न्युयोर्कमा आप्रवासीहरुको बाक्लो बसोबास रहेकाले काम पाउन सजिलो हुने विश्वास छ । त्यसैले जेलबाट छुट्नेहरु न्यु योर्क बस्ने भन्दै छुट्ने भएकाले जीपीएस नेल पनि त्यही अनुसार सेटअप गरिन्छ । व्यक्तिको मुद्दाबारे फैसला नहुँदासम्म त्यो व्यक्ति न्युयोर्कमा नै बस्नुपर्ने हुन्छ । तर न्यु योर्क सहरको बसाई भने त्यति सहज छैन ।
न्युयोर्कको महँगो बसाई सीमित घण्टाको कामले करोड सम्म खर्च गरेर आउनेहरुका लागि न्यु योर्क सहर सहज छैन । तर खुट्टामा जीपीएस नेल लगाइएकाले उनीहरू न्यु योर्क भन्दा बाहिर जानपनि सक्दैनन् । उनीहरुमध्ये कतिपयलाई न्यु योर्क बाहिर जान प्रतिबन्ध लगाइएको हुन्छ । कतिपयलाई भने न्यु योर्क बाहिर गएको खण्डमा निश्चित समयभित्रै फर्कनुपर्ने गरी प्रतिबन्ध लगाइएको हुन्छ । त्यसैले कामगर्न पनि अत्यन्तै असुविधा हुने गरेर जीपीएस नेल लगाएका नेपालीहरूको गुनासो छ ।
यो कस्तो खालको कार्यक्रम हो ?
अमेरिकी सरकारकाले यो कार्यक्रम सन् २००४ देखि सुरु गरेको हो । डिटेन्सन सेन्टरको क्षमता अनुसार आप्रवासीहरुलाई त्यहाँ राख्न सम्भव नभएकाले इन्टेसिभ सुपरभिजन एपियरेन्स प्रोगाम अर्थात् आईस्याप कार्यक्रम अन्तरगत खुट्टामा विद्युतीय उपकारण जोडेर छाड्न थालिएको हो । उनीहरूलाई जेलमा राख्नु नपर्ने र जेलमा राख्नका लागि सरकारी खर्च पनि नहुने तर व्यक्ति सरकारी नियन्त्रणमा हुने भएकाले यो कार्यक्रमलाई सरकारले प्रभावकारी ठान्दै आएको छ ।
तर यसरी जीपीएस लगाएर छाड्ने व्यक्तिलाई त गाह्रो छ नि ?
उनीहरूलाई जेलभित्र बस्नु परेन । त्यो राम्रो कुरा हो । तर जेलमा बस्नु नपरेपनि यो एकप्रकारको निषेधाज्ञा जस्तै हो । यो लगाएको व्यक्तिलाई निश्चित समयमा निस्कनु पर्ने, निश्चित समयमा फर्कनु पर्ने, ठेगानाहरु परिवर्तन गर्न नपाइने, निश्चित क्षेत्रभन्दा बाहिर जान नपाइने लगायतका सिमाबन्दीमा राखेर छाड्ने गरिन्छ । सीमा पार गरेर आउने क्रममा पक्राउ परेका व्यक्ति जो सार्वजनिक सुरक्षाका लागि खतरा छैनन्, त्यो अवस्थामा उनीहरूलाई जीपीएस नेल लगाएर छाडिने गरिन्छ । जेलमा नराखेर बाहिर छाडिदिएपनि यो एक प्रकारको डिटेन्सन नै हो ।
यो त एकप्रकारको खुल्ला जेल जस्तो भएन ?
हो, यो एकप्रकारको खुल्ला जेल नै हो । व्यक्ति चौबीसै घण्टा सरकारी सुपरभिजनमा हुन्छ । पहिले यो अमेरिकाका सीमित राज्यमा मात्र थियो । तर अहिले हो सबै राज्यमा विस्तार भएको छ । यो कार्यक्रमको उद्देश्य धरौटी राखेर वा जमानी (परोल) मा निस्कने व्यक्तिलाई छाडेपछि त्यो व्यक्ति बेपत्ता हुने र अदालतमा उपस्थित नहुने जोखिम रहने भएकाले उनीहरूलाई निगरानी र नियन्त्रणमा राख्नु हो । यसबाट उनीहरू होमल्याण्ड सेक्युरिटीले भनेको बेलामा अदालतमा उपस्थित हुने कुराको ग्यारेन्टी हुन्छ ।
यो लगाउनेहरुको गुनासो कस्तो छ ?
यो एकदमै असजिलो भएको गुनासो आइरहेका छन् । मेरा सेवाग्राहीहरुले पनि त्यस्तो गुनासो गर्दै आएका छन् । चाहेको समयमा घर छाड्न नपाइने, समय समयमा अफिसरहरु आउने, आइस्याप अफिसमा रिपोर्ट गर्न जानुपर्ने र चौबीसै घण्टा निगरानीमा बस्नुपर्ने भएकाले निकै नै असजिलो छ । व्यक्तिगत स्वतन्त्रता नभएपछि गाह्रो हुन्छ नै । स्वतन्त्रतामा असर गरेको हुन्छ । खुटमा विद्युतीय उपकरण राख्दा कतिपय मान्छेलाई शारीरिक र मानसिक रूपमा तनाव हुने गरेको छ ।
जीपीएस नेल छुटाउने पनि कुनै उपाय छ कि ?
यो कार्यक्रम अन्तरगत रहेकाहरुले त्यो मुलुकको पासपोर्ट वा अफिसियल डकुमेन्ट देखाउन सकेमा जीपीएस नेलबाट उन्मुक्ति दिलाउन सकिन्छ । यदि व्यक्ति अदालतमा उपस्थित भएको छ भने वा कानुन व्यवसायी लिएको छ भने यो अवस्थामा जीपीएस निकाल्नका लागि अनुरोध गर्न सकिन्छ । अधिकारीहरुलाई व्यक्ति अदालतमा उपस्थित हुनसक्छ वा कुनै पनि हिसाबले खतरा छैन भन्ने आश्वस्त पार्न सकेमा कानुन व्यवसायीको अनुरोधमा जीपीएस नेल हटाउन सकिन्छ ।
कस्ता व्यक्तिलाई जीपीएस लगाएर छाड्ने गरिएको छ ?
यो अल्टरनेटिभ डिटेन्सन हो । पक्राउ परेर धरौटीम छुट्ने बेलामा उनीहरूको अमेरिकामा कुन ठाउँमा जाने , अमेरिकामा कुनै आफन्त छ वा छैन, साथीहरू छ वा छैन, समुदायसँग राम्रो सम्बन्ध छ वा छैन भन्ने कुराको आधारमा अल्टरनेटिभ डिटेन्सन तय गरिन्छ । यहाँको समुदायसँग राम्रो सम्बन्ध छैन, आफन्तहरु पनि छैनन् भने उनीहरूलाई खुट्टामा जीपीएस लगाएर छाड्ने गरिन्छ । कुनै व्यक्ति जर्जियाको जेलबाट निस्केर न्युयोर्कमा बस्दा उसलाई ट्रयाक गर्नका लागि यो उपकरण लगाइन्छ । उनीहरूका गतिविधिमा निगरानी गर्न र चाहेको बेलामा आफूसमक्ष उपस्थित गराउनका लागि यो जीपीएस लगाउने गरिएको छ ।
जीपीएस लगाउनेहरुमा अमेरिकामा आफन्त नहुनेहरु धेरै छन् ?
यो केस अनुसार हुन्छ । खासगरी गैरकानुनीबाट सिमाक्षेत्रबाट अमेरिका आउने क्रममा समातिएकाहरु जसले अमेरिकामा कुनै व्यक्ति पनि चिनेको छैन, उसको जमानत बस्ने पनि कुनै व्यक्ति छैन, नजिकको आफन्तहरु पनि छैन वा अध्यागमन अदालतमा आउने कुराको ग्यारेन्टी हुने वातावरण छैन भने त्यस्ता व्यक्तिलाई जीपीएस लगाएर छाड्ने गरिन्छ । पहिले पहिले अमेरिका आएर डिपोर्ट भएर फेरी अमेरिका छिरेको व्यक्तिका सवालमा पनि खुट्टामा जीपीएस नेल लगाउने गरिएको पाइन्छ ।
जीपीएस लगाउनेहरुले कसरी त्यसबाट छुटकारा पाउन सक्छन् ?
उनीहरूलाई त्योबाट छुटकारा दिलाउन पनि सम्भव छ । यो उनीहरूको आचरणमा भरपर्छ । यदि जीपीएस लगाइएको व्यक्तिको आचरण ठिक छ, व्यक्तिबाट कुनै खतरा छैन, नराम्रो काम गरेको छैन, आपराधिक गतिविधिमा संलग्न छैन, अध्यागमन अदालतमा एसाइलम वा अन्य केस चलिरहेको छ र उसको केस सही खालको छ भने अनुरोध गरेपछि जीपीएस नेलबाट मुक्त समेत गरिदै आएको छ । हामीले व्यक्तिको अमेरिकामा गैरकानुनी उपस्थिति बाहेक कुनै नराम्रो आचरण नरहेको आधारमा अधिकारीहरुलाई अनुरोध पनि गर्ने गरेका छौँ । जीपीएस लगाइएको व्यक्तिको ग्यारेन्टी बस्ने व्यक्ति भएको आधारमा गरिएको अनुरोध अधिकारीहरुले स्वीकार्ने समेत गरेका छन् । यो त अमेरिकाको नियम हो । यसलाई फ्लो गर्नुपर्ने हुन्छ । तर यसबाट असुविधा हुने गरेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् । कहिलेकाँही खुट्टामा सुनिने जस्ता समस्याहरू पनि आउने गरेका छन् । तर यो नियममा परिवर्तन नभएसम्म कठिन भए पनि यो नियम मान्नुपर्ने हुन्छ ।
खसोखासबाट
तस्बिर : जीपीएस नेल लगाएका एक नेपाली न्युयोर्कमा ।