काठमाडौंमा एक्लै मान्छेलाई डेरा पाउनै मुस्किल, पाइहाल्यो भने कि त पानीको दु:ख, कि त घाम समेत नछिर्ने अंध्यारो कोठा – अपार्टमेन्ट त के साह्रो महंगो ?
गल्ली-गल्ली नचाहरेको होइन, पसल-पसल र घर-घरमा नसोधेको पनि होइन । जमाना फेरिएछ बाबै, फेसबुकमै सर्च गरें, “अपार्टमेन्ट र कोठा” सम्बन्धि फेसबुक पेज रहेछ, लाइक गरें, सर्च गरें – एकदुई वटा मन पनि पर्यो, महंगै भए पनि आँट्न सकिने खाले । मेसेज गरें, फोन गरें – तर अहं, कसैले बिदेशीलाई मात्रै दिने रे, कसैले त्यो डेरा त गइसक्यो अरे । होइन, यहाँ पनि कम्पिटिशन ?
त्यसपछि पोस्ट गरें, “एउटा कोठा भएको डेरा चाहियो वा अपार्टमेन्ट शेयर गर्न चाहने साथी” । केहीले इच्छा देखाए, तर आफैले डेरा खोजिरहेका रहेछन् । बल्लतल्ल एकजनासँग कुरा मिल्यो । दुबैले फेसबुकमा धुइंधुइंती अपार्टमेन्ट खोज्न थाल्यौं । केही ठाउंमा गएर पनि हेर्यौं – अन्त्यमा एउटा अपार्टमेन्ट पनि रोज्यौं २ कोठा, एउटा बैठक र एउटा भान्साकोठा भएको – घरबेटीसँग बैना पनि गर्यौं – अपार्टमेन्ट हाम्रो भयो – दुबैले आधा-आधा भाडा शेयर गर्ने भयौं ।
मलाई पकाएर खानुपर्ने, उ धेरैजसो बाहिर होटलमै खाने । त्यसैले म संधैजसो एक्लै पकाएर खानुपर्ने । कहिलेकाहीं त अल्छी नि लाग्दो रहेछ, बिहान पकाएको बासी खाना तताएर मात्रै खाने, कहिले चाउचाउ-चिउरा मात्रै खाने । कहिले पकाएका भाँडा माझ्न नभ्याएर दिनभरि बेसिनमा भइरहने । उसको आउनेजाने ठेगान पनि नभएको – रातबिरात आउने, जाने । प्राय: साथीहरु कोठामा ल्याउने, बियर-ड्रिन्क्स खाने । कहिलेकाहीं केटी साथीहरु पनि ल्याउने – बिहान अबेरसम्म सुत्ने । बिस्तारै हाम्रो भेटघाट, बोलचाल पनि कम हुन थाल्यो । अपार्टमेन्टको भाडा शेयर गर्ने बाहेक हामीहरु होटलमा बस्ने पाहुना जतिकै भयौं ।
“दाई, आज दिउंसो घरबेटी आउनुभएको थियो, छिटो अपार्टमेन्ट खाली गरिदिनुस् है भन्दै थिए” – उसले मलाई साँझ म आउनसाथ खबर गर्यो ।
“हँ के भएछ ?” – मैले सोधें
“खै, घरबेटी आफै बस्ने अरे” – उसले भन्यो
“ए, फेरी अर्को अपार्टमेन्ट खोज्नुपर्ने भयो” – मेरो मुखबाट निस्कियो
“हैन, म त साथीकोमा सिफ्ट हुंदैछु, तपाईंले आफ्नो ब्यवस्था गर्नुस् ल” – उ पन्छिन खोज्यो
एकमनले त राम्रै भो भन्ने सोंचे, अर्को मनले पुन: डेरा/अपार्ट्मेन्ट खोज्ने झण्झट आइलाग्यो भन्ने सोंचेर दिक्क लाग्यो !!