अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 12:53

मुस्ताङमा हावाबाट बिजुली निकालिंदै

बिआरटीनेपाल २०७३ पुष १ गते ८:५८ मा प्रकाशित

काठमाडौँ, पुस १ गते । मुस्ताङको कागबेनीमा परीक्षणको रूपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ ।  नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’का विज्ञान प्रविधि सल्लाहकार डा रवीन्द्र ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वायु ऊर्जा विभाग प्रमुख सन्तोष राई, एभरेष्ट बिन प्राली र दक्षिण अफ्रिकाका प्रतिनिधिको संयुक्त अध्ययन टोलीले केही दिन पहिले मुस्ताङको कागबेनीमा परीक्षणको रूपमा तत्काल एक मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन तयार पारेको थियो ।

विश्वभर चलनचल्तीमा रहेको प्रविधिभन्दा दक्षिण अफ्रिकाको प्रविधि नेपालका लागि योग्य हुनसक्ने परीक्षणको क्रममा थाहा भएको सल्लाहकार डा ढकालले बताउनुभयो । हाल उपलब्ध प्रविधि ६ मिटर प्रतिसेकेन्डभन्दा बढी बेगमा हावा चलेमा बन्द हुने र विद्युत् उत्पादन गर्न नसक्ने रहेको छ । तर दक्षिण अफ्रिकाको प्रविधि भने प्रतिसेकेन्ड ७.५ मिटरभन्दा बढी बेगमा समेत विद्युत् उत्पादन गर्न सक्ने रहेको छ ।

मुस्ताङमा जुनसुकै मौसममा पनि उलेख्य मात्रामा हावा चल्ने भएकाले वायु ऊर्जाको लागि सो स्थान धेरै पहिलेदेखि चर्चामा रहेको भए पनि काम अगाडि बढ्न सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले २५÷२५ किलोवाट क्षमताको दुईवटा टर्वाइन राखेर विद्युत् उत्पादन गरेपनि हावाको बेग सहन गर्न नसक्ने पङ्खा जडान गरिएका कारण सो प्रणाली हाल बन्द छ ।

मुस्ताङको कागबेनी, मार्फा, मुक्तिनाथ, माथिल्लो मुस्ताङका जुनसुकै स्थानमा समेत वायु ऊर्जा प्रणाली जडान तथा विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । सन् २००८ मा संयुक्त राष्ट्रसङ्घले गरेको अध्ययनअनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् वायु ऊर्जामार्फत उत्पादन गर्न सकिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ७०० मेगावाटको सम्भावना छ । सबैभन्दा बढी सम्भावना मुस्ताङमा देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले पनि मुस्ताङमा १० मिटर प्रतिसेकेन्ड हावा लाग्ने प्रशस्त स्थान रहेका छन् ।

प्रचलनमा रहेका प्रविधिअनुसार एक रोपनी जग्गामा पाँच सय किलोवाट वायु ऊर्जा उत्पादन गर्न सकिन्छ । तर अफ्रिकाको नयाँ प्रविधिबाट सोही क्षेत्रमा एक मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । सो प्रविधिअनुसार एउटा टर्वाइनबाट ३.५ किलोवाट विद्युत् उत्पादन गर्न सकिन्छ ।

नेपालमा वायु ऊर्जाको सम्भावना भए पनि विद्युत् खरिद दर, लगानीको वातावरण तथा सरकारको सहजीकरणको अभावमा उल्लेख्य मात्रामा लगानी भित्रन नसकेको हो । तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जुम्लाको तातोपानीमा १५ किलोवाट, मकवानपुरको भोर्लेनी र नवरपरासीको धौवडीमा १०÷१० किलोवाट क्षमताको वायु ऊर्जा उत्पादन गरिसकेको छ ।

केन्द्रका वायु ऊर्जा विभाग प्रमुख राईले नेपालका अन्य स्थानभन्दा मुस्ताङ नै उपयुक्त रहेको र केन्द्रले समेत तीन वर्षदेखि जिल्लाका विभिन्न स्थानमा हावाको परीक्षण गरिरहेको बताउनुभयो । “दक्षिण अफ्रिकाको प्रविधि नेपालका लागि उपयुक्त हुनसक्छ । त्यसले हावाको बेग सहन गर्नसक्ने र सामान्य हावामा पनि विद्युत् उत्पादन गर्न सक्ने देखिएको छ,” उहाँले भन्नुभयो ।

मुस्ताङको एउटै स्थानमा आठ किलोमिटर लामो खुल्ला मैदान छ । सो स्थानमा वायु ऊर्जाको सम्भावना अत्याधिक रहेको छ । यस्तै सप्तगण्डकी, कोसी र कर्णालीका दक्षिणी र मध्य दक्षिणी भेगमा वायुको गति भारतको राजस्थानको जत्ति नै रहेको छ । भारतको राजस्थानमा दुई हजार ५०० मेगावाट विद्युत् वायु ऊर्जाबाट निकालिएको छ ।

त्यस्तै नेपालको सुर्खेत, अछामका दुईवटा गाउँमा समेत सम्भावना देखेर बोलपत्र आह्वान भइसकेको छ । घरायसी प्रयोगमा समेत उपयोगी हुने भएकाले बढी हावा चल्ने जुनसुकै स्थानमा वायु ऊर्जा प्रणाली जडान गर्न सकिन्छ । वायु ऊर्जा प्रणालीबाट तत्कालै उत्पादन सुरु हुने भए पनि सुरुमा लागत बढीपर्ने भएकाले लगानीकर्ता लगानी गर्न हिच्किचाइरहेको बेला एभरेष्ट बिन इनर्जीले परीक्षणको रुमपा मुस्ताङमा विद्युत् उत्पादनको तयारी गरेको हो ।

एभरेष्ट बिन इनर्जीका अध्यक्ष डिल्लीराज पोखरेलले परीक्षणको रूपमा विद्युत् उत्पादनको तयारी गरेको बताउनुभयो । नेपालमा वायु ऊर्जाको अत्याधिक सम्भावना भए पनि सरकारले वातावरण नबनाउँदा लगानीकर्ता लगानी गर्न इच्छुक नभएकाले सरकारले अनुदान दिने प्रणालीमा पुनः विचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले वायु ऊर्जाबाट उत्पादन हुने विद्युत्को तत्काल विद्युत् खरिद दर समेत तय गर्नुपर्ने देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वायु ऊर्जाको सम्बन्धमा प्रक्रिया अगाडि बढाएको भए पनि लगानी बोर्डमा दर्ता भएको ‘द’ गोर्खाज यूके’ लिमिटेडको अधिकृत पुँजी एक अमेरिकी डलर मात्रै पाइएको छ । सो कम्पनी हाल आफ्नो सम्पर्कमा नरहेको बोर्डले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू