सिक्का सिक्का जम्मा गर्दै कटेरोमा गाई
गोठ बनाउने जमर्को गर्दै बसेकी म
कतै,
दिन प्रतिदिन डलर र पाउण्डमा आफ्नो
इमान बेच्दै हिडी रहेछन् मान्छेहरू
के थाहा ?
केटी लाई मात्रै दोष दिने हाम्रो समाजलाई ,
एकोहोरो रोटी पकाएर खाने बानी
परेकालाई
दिउसै सपना बुनेर रम्न खोज्नेहरूलाई
तिन्का तिन्का जोडेर घर बनाउन कति गार्हो
हुन्छ
महल त पैसाले भव्य बन्ला
तर मनको महल सजाउन
कति सार्हो हुन्छ भनेर
के थाहा ?
ब्याउनै लागेको
गाई तुहिएको मर्म नबुझ्नेलाई
नोट साट्न भोलि सिक्का नै खोज्नु पर्नेछ भनेर
भोलिका दिनमा त्यही गाई र गोठको सम्झनाले सताउने छ
पश्चातापको आशुले अर्को घार खडा गर्नेछ,
बाच्ने रहर हुँदाहुँदै पनि पटक पटक मर्नु पर्नेछ
मर्न चाहेर पनि कहाँ पाइयो र ?
काल सँग सम्झौताको हात मिलाउनु पर्ने रहेछ
“सम्झौता”को अर्को बिकल्पै रहेनछ
तर,
त्यो सम्झौतामा खडेरी परीसकेछ,
गाई थारो भैसकेको रहेछ
रुख खंरंग सुकिसकेछ
राप र ताप दिन नसक्ने रुख ,पुत्त-पुत्ताउने
कालो धुवा बन्ने निश्चित भैसके छ
समयको निश्चितता सँगै मनले फेरी सोध्छ ”
सम्झौता ? कस्तो सम्झौता !!