लेखनाथ गौतम उम्मेदवार (एनआरएन अमेरिका)
फेरी एनआरएनको चुनाव हुने दिन नजिकियो। त्यही ६ महिना जति होला। दुई वर्ष अघि पनि यसरि नै चुनाव आएको थियो। धेरैले धेरै भाषण गरेका थिए। यसो गर्छु, त्यसो गर्छु भनेर सामाजिक सञ्जाल र फोन लाइनहरु ट्राफिक जाम हुनेगरी भरिएका थिए। म पनि सानोतिनो मान्छे होइन। अध्यक्ष पद पड्काउने हैसियत नभएको होइन तर थुप्रै कारणले म त्यही बेला उठ्ने आँट गर्न सकिन। परिस्थिति मेरो अनुकूल थिएन। त्यसमाथि मैले भिड्नु पर्ने उम्मेदवारहरु चानचुने थिएनन। डाक्टरहरुको लर्को नै थियो। डाक्टर भनेपछि यो ठुलो, गतिलो, पढेको र गर्न सक्ने मान्छे हो भन्ने प्रवृति हामी नेपालीहरुमा रहेको अवस्थामा मैले मेरो उम्मेदवारी दाबी गर्ने आधार देखिन। एक भोट जथाभावी हालेर बसें। वास्तवमा को को उठ्या थिए र को कोले जिते को को ले हारे मलाई थाहा पनि भएन, बाल पनि भएन ।
मलाई लाग्छ, अहिले परिस्थिति फेरिएको छ । एनआरएनको दोहोरो नागरिकताको नारा पनि समाधान भैसक्यो। अब के गर्ने, के नारा लाउने भन्ने कुरा तय नभएको अवस्थामा गर्नु पर्ने पनि केही रहेन। अघिल्लो पल्ट जितेकाहरुले गरेको कामको लेखाजोखा गरेर नै ममा एक खालको जोस आएको अवस्था छ। गर्नु केही नपर्ने, मिडियाको नजरमा परिने, आफ्नो कुरो बिक्ने र मज्जाले गफ दिँदै घुम्न पाइने यो पद मलाई बडो आकर्षक लाग्यो। त्यसमाथि धेरै ठाउँमा स्थानीय एनआरएनका प्रतिनिधि छंदैछन्, काम उनीहरूले गरिहाल्छन। केन्द्रमा गए पछि स्थानीय स्तरको काम गर्ने कुरा पनि भएन। यी र यस्ता थुप्रै परिस्थिति मेरो अनुकूल देखेपछि यसपालि मैले पनि एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु। परिस्थिति मात्र होइन, यो पदको लागि मेरो योग्यता पनि प्रयाप्त छ।
अग्लो शरीर र लामो नाक
एनआरएनको अध्यक्ष हुनको लागि मेरो पहिलो योग्यता अग्लो शरीर र लामो नाक हुनु पनि हो। तपाईँहरू सबैलाई थाहै छ, होचोको मुखमा घोंचो हुन्छ भनेर। अर्थात् तपाईँको जिउ सानो गाँठीको छ भने तपाईँलाई मान्छेले पुछ्दैनन, गन्दैनन।जिउ ठुलो छ भने मान्छेले यसमा केही दम छ है भन्ने ठानिहल्छ। तपाईँको अगाडी लुरे मान्छे छ भने तपाईँको रवाफ र भुडे मान्छे छ भने तपाईँको हालत फरक भैहाल्छ। अनि नाकले पनि तपाईँको योग्यता दर्शाउँछ। लामो नाकधारीहरुको समाजमा राम्रै स्थान हुन्छ। केही गतिलो काम गर्यो भने मान्छेको त्यसै पनि नाक घिरौंला जत्रो भैहाल्छ। यसो भन्नुको अर्थ पनि ठुलो नाक गौरव र इज्जतको प्रतीक हो। हाकिमको कुर्चीमा बस्ने लुरे र सानो नाक भएको मान्छेलाई हाकिम मान्न धेरै मान्छे तयार हुँदैनन्। “हाकिम साब खोइ” भनेर कुर्सीमा आसि लुरे हाकिमलाई सोधेर पारो चढाउनेहरु दुनियाँमा थुप्रै छन्। मलाई त्यसको चिन्ता छैन। मेरो शरीर मात्र होइन नाक पनि लामो छ। एन आर एन को कुर्चीमा बस्न मलाई मज्जाले सुहाउँछ।
हजुरबाले घ्यु खाएका थिएएन
आरएन अमेरिकाको अध्यक्षको पदको लागि योग्य हुनुमा मेरो हजुरबाले खाएको घिउ पनि हो । घिउले तागत दिन्छ। जसले सानोमा राम्रो सँग घिउ खाएको हुन्छ, उ बलियो हुन्छ। मल्ल युद्धमा त्यही बलको प्रयोग हुन्छ। बुद्धिले चल्छ दुनियाँ भनेर भने पनि यहाँ बलको ठुलो महत्त्व छ। मेरा हजुरबाले दिनको एक माना घिउ खानुहुन्थ्यो रे। एकमना घिउ खाएर काममा जाँदा ३ जनाले गर्ने काम एकै जनाले गर्नुहुन्थ्यो रे। तिनै मेरा हजुरबाको देनले हाम्रो गाउँमा विकास र नौलो बिहानी सुरु भएको थियो। उहाँकै कारण हाम्रो गाउँ नवयुगमा प्रवेश गरेको थियो। मैले तिनै हजुरबाको नाम बेचेर विदेश आएको पनि हो। अब तिनै मेरा हजुरबाको बिरासत मैले पाउनु पर्छ। उहाँको देनको कदर गर्न पनि मैले जित्न जरुरी छ। जित्न म उठ्न जरुरी छ। त्यही बिरासत मेरो उम्मेदवार हुनको लागि अर्को योग्यता हो।
गैरीखेत सबै मेरो
सबैलाई थाहै छ, अहिले चुनाव जित्न के के चाहिन्छ। मोदी देखि डोनाल्ड ट्रंपले पनि करोडौं खर्च गरेरै चुनाव जितेका हुन्। बुद्धि, विवेकले जित्ने भए कृष्णप्रशाद भट्टराईले जित्थे। चुनाव जित्न मान्छे किन्नु पर्छ, खान दिनु पर्छ। खान दिन चामल चाहिन्छ। चामल खेतमा फल्छ। त्यो खेत मसँग छ। १०० मुरी आउने पुरै गैरीखेत मेरै हो। चुनाव प्रचार गर्न हनुमानहरु चाहिन्छ। कलियुगका हनुमानले दारु र मांस भोजन गर्छन्। ६ महिना अघि चुनाव घोषणा भए पछि विचार गर्नुस कति मुरी धान चाहिएला ! जति सुकै योग्य छु भनेर प्रचार गरे पनि तिनले यति लामो समय सम्म आफूलाई टिकाउन सक्दैनन्। च्याँखे थाप्ने हुन्, पछि बिस्तारै साइड लागिहाल्छन। परिस्थिति अनुसार कलमधारी हनुमान पनि पाल्नु पर्छ। यस्तो खर्चिलो चुनाव २० मुरी धान हुनेले लड्न सक्दैन। देश दौडाहामा हिँड्दा जहाज खर्च अरू सँग सापटी लिने सुदामाहरुले यो पदमा आँखा लगाउनु हुन्न। जसले जति आदर्शका कुरा गरे पनि खेल पैसाको हो, धानको हो। म सँग मनग्य धानखेत छ। त्यसले गर्दा म यो पदको लागि योग्य मान्छे हो।
योजना बिहिन
म जनताको मान्छे हो। म जनताको नोकर हो। मैले यो गर्छु र त्यो गर्छु भनेर भन्न चाहन्नँ। मतदाताले जे भन्छन्, मैले त्यही गर्ने हो। मैले मेरो गोरुको बाह्रै टक्का गर्दिन। सबैको सल्लाहमा काम गर्छु। फेरी गर्ने कुरा पनि केही छैन। अघिल्लो पटक के गर्या थिए र ? आफू माथि लागेको मुद्धा समेत टुङ्गाउन नसकी बिदा हुँदैछन् बबुराहरु। भन्नको लागि म सँग नारा पनि छैन। मैले अरूले भन्दा एकदम राम्रो गर्छु। डोनाल्ड ट्रंपले के गर्छस भन्दा यो भन्दा टेरिफिक गर्छु भनिकन नै अमेरिकाको राष्ट्रपति बन्न सक्छन् भने मैले योजना प्रस्तुत गर्नु पर्ने कुनै कारण छैन। जे पर्छ, त्यही टर्छ। चुनाव जितेपछि तपाईँ मतदाता सबैको सल्लाह अनुसार म अघि बढ्छु। अहिलेनै यो गर्छु भनेर मैले भविष्यलाई बन्धनमा राख्न चाहन्न। भविष्यलाई थुनेर राखेर भविष्य बन्दैन। त्यसैले यो गर्छु र त्यो गर्छु भनेर उफ्रिने भन्दा म योग्य छु। यो नै मेरो योग्यताको प्रमुख आधार हो।
एनआरएन अमेरिकाको अध्यक्ष हुनको लागि यी र यस्तै अन्य थुप्रै योग्यताहरुको लर्को म सँग छ। मलाई लाग्छ यति योग्य मान्छे अमेरिकामा पाउन गाह्रै होला। आशा गर्छु, मेरो यो योग्यताको आधारहरु प्रस्तुत गरिसकेपछि अरू पछि हट्नेछन् र मैले सर्बसम्मत रूपमा चुनाव जित्नेछु। होइन भने माथि उल्लिखित योग्यताकै आधारमा अमेरिकी जनताले डोनाल्ड ट्रंपलाइ जिताए जस्तै नेपाली मतदाताले मलाई विजयको माला पहिर्याउने नै छन्।