Similar Articles

बालक मृतावस्थामा फेला

विराटनगर, भदौ १४ गते । आफ्नै घरबाट हराइरहेका एक बालक चौबीस घन्टापछि आज सोमबार मृतावस्थामा फेला परेका छन् । मोरङको कटहरी–६ बस्ने प्रमोद सहनीका ११ वर्षीय छोरा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल पठाइएको छ । रासस

गोसाईकुण्ड, रक्षाबन्धन र गाईजात्राबारे--नवराज बजगाई

‘येन बध्यो बलिराजा दानवेन्द्रो महाबलः तेन त्वा प्रतिबध्नमि रक्षेमा चलमाचल ।’
‘शतिश्चुते कुशलमस्तु, चिरायु रस्तु, ऐश्वर्य फलमस्तु धनधान्य वृद्धि सहितम हरिभक्ति रस्तेु ।’

जुन बन्धनले बलशाली दानवराज बलि बाँधिए त्यसैले तिमीलाई बाँध्छु । तिमी सुरक्षित बन, विचलित नहोऔं । सत्य युगमा दानवबाट पीडित देवगणलाई गुरु बृहस्पतिले रक्षा सूत्र बाँधेर रक्षा गर्दा भनेको यो श्लोक नै अहिलेसम्म पनि रक्षाबन्धनको श्लोक भएको छ । शनिवार जनै पूर्णिमा अर्थात् यधोपवित (जनै) लगाउने दिन रक्षा बन्धन भाद्र पूर्णिमा मनाइदै छ । उक्त दिन प्रत्येक ब्राह्मणले जनै र डोरो लगाउँदै रक्षा गर्ने सुरक्षित राख्ने बन्धन बाँध्छन् । हजुर यस दिन देशभरका मानिसहरू विभिन्न तीर्थस्थ गई स्नान गरी ब्राह्मणका हातबाट डोरो बाध्छन् र जनै फेर्छन् । यसो गर्नाले सुरक्षित रहने र रक्षा हुने किम्वदन्ती पाइन्छ । तपाइहरू पनि माथि उल्लिखित मन्त्र जप्दै रक्षाबन्धन गर्न विभिन्न तीर्थस्थल जाँदै हुनुहुन्छ होला प्रसङ्गको पेरीफेरिमा रही भाद्र पूर्णिमासँगैका पर्व र धार्मिक किम्वदन्ती अनुसार यो बेलाका महत्वपूर्ण ऐतिहासिक तिर्थस्थल र पूर्णिमाको भोलिपल्ट मनाइने गाइजात्रा सम्बन्धी केही जानकारी प्रस्तुत गरिएको छ ।

महादेव पोखरी
भाद्र पूर्णिमाका दिन यस ठाउँमा गई स्नान गरी पूजापाठ गर्नेले आँटेको पुग्ने र अश्वस्तता हटाई आनन्दीत र स्वास्थ्य रहने किम्वदन्तका साथ मेला लाग्ने गरेको महादेव पोखरीमा सिजनका अन्नहरु चढाएर खान सुरु गरेमा सहकाल हुने बुढापाकाको भनाई छ । परापूर्व कालको भाद्र पूर्णिमाकै दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको हलाहल विष बाहिर निस्कियो त्यो विषलाई श्री महादेवले सेवन गरेपछि विष सेवनले छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लागेका थिए । त्यही क्रममा महादेवको पहिलो बास महादेव पोखरी अर्थात् त्यो बेलाको तपोवनमा (नालादेखि नगरकोट र जलजले माथिसम्मको भालाई आदीकालमा तपोवन भनिन्थ्यो । आजसम्म पनि उक्त स्थानलाई श्रीस्वस्थानीमा तपोवन नै भनिन्छ ) भयो ।

वर्षा ऋतुको अन्त्यतिर भएको कारण गर्मीले गर्दा राति महादेवलाई पानी प्यास लागेर आयो अन्त कतै नजिकै पानी नभएको कारण महादेवले त्यसै स्थानमा नङले कोट्याएर पानी निकाली खाएका कारण उक्त ठाउँमा सधैँ पानी जमिरह्यो र त्यसै ठाउँको नाम महादेव पोखरी रह्यो भन्ने किम्वदन्ती पाइन्छ भने त्यसैदिन महादेव हिमालयको गोसाइकुण्डमा समेत पुगेका थिए । सतिदेवी मरेको बेला लास बोकेर पुनः महादेव महादेवपोखरी आएका थिए । त्यहाँ पनि सतिदेवीको एक अङ्ग पतन भयो र रत्नचुणेश्वर महादेवको उत्पत्ति भयो । त्यसै दिनदेखि प्रत्येक भाद्र पूर्णिमाका दिन ऋषिहरु त्यहाँ आई तपस्या गर्न थाले अन्तत्वगत्वा त्यस ठाउँलाई तपोवन भनियो । यसका साथै उक्त तपोवनमा पाण्डवहरु समेतले तपस्या गर्ने गरेको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । सतिदेवीको अंगल पतन भएका ठाउँमा स्नान गर्नाले मोक्ष प्राप्ति हुने आशाले बुढापाकाहरु महादेवपोखरी जाने गर्छन् भने पर्यटकीय स्थल नगरकोट र त्यहाँका झाँकीहरुको दृश्य लुट्न मात्र भएपनि युवा जमान महादेवपोखरी जाने गरेको पाइन्छ ।

गोसाइकुण्ड
काठमाडौबाट ६९ किलोमिटर टाढा त्रिशुली र त्रिशुलीबाट ४८ किलोमिटर टाढा धुन्चे पुगेपछि १० घण्टा पैदल हिँडेर वा काठमाडौँको सुन्दरीजलबाट नुवाकोटको चिसापानी सिन्धुपाल्चोकको पार्टी भञ्ज्याङको उकालो हुँदै अथवा मेलम्चीबाट २६ घण्टा जति पैदल हिँडेर पुगिने रसुवा जिल्लाको उत्तरी भेगको हिमाली भागमा रहेको तिर्थस्थल मध्यको अग्रणी तिर्थस्थल गोसाईकुण्डमा मेला लाग्ने गरेको कारण धेरै टाढा देखिका श्रद्धालुहरु गोसाईकुण्डमा मेला भर्न र स्नान गर्न पुग्ने गर्छन् । त्यहाँ पुगेर स्नान गरी फर्कनाले खुसी, अनन्दित र गौरवान्वित हुने र रोग व्याधी हट्ने तथा स्वास्थ्य रहने किम्वदन्ती पाइन्छ ।

कालकुट विष पियर छटपट्टिएका महादेवलाई कहीँ गएर पनि विषको प्रभाव कम नभएका कारण हिमाल चढेका महादेवले त्रिशुलको प्रहार गरी तीन वटा मूल निकाले र त्यही पानी जमेको कुण्मा सुतेर डाहा पनि कम गराए । यसकै कारण उक्त स्थानलाई गोसाईकुण्ड भनेर चिनियो । महादेवको त्रिशुल प्रहारबाट तीनवटा मुहान बनेर पानी निस्केर बग्ने गरेको नदीको नाम नै त्रिशुली रहेको पनि लोकोक्ती पाइन्छ । यिनै कारण पनि उक्त कुण्डमा भाद्र एकादशीदखि पूर्णिमासम्म मेला लाग्ने गरेको अनुमान गर्न सकिन्छ भने डाह कम गर्ने तिर्थस्थल पनि गोसाइकुण्ड नै हो ।

बनेपाको गोसाईकुण्ड
गोसाईकुण्डको सहायकको रूपमा काभ्रेको बनेपास्थित बुडोलमा रहेको गोसाइकुण्डमा पनि भाद्र पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको पाइन्छ । शारीरिक अस्वस्थ र बालबृद्धाका कारण रसुवाको गोसाइकुण्ड पुग्न नसकेकाले बिहानदेखि आएर यहाँ स्नान गर्ने र ब्राह्मणहरुले जनै र डोरी फेर्ने गरेको पाइन्छ । जङ्गलको बिच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नाले पनि गोसाईकुण्ड गए जत्तिकै हुने किम्बदन्ती छ । परापूर्व काल जबकि गोसाईकुण्डमा मेला लाग्न थालिसकेपछि गोसाईकुण्डमा मेला भरी स्नान गरी जललिन भनी लगिएको एक तिर्थालुको कमण्डलु गोसाईकुण्डमा हराएको र पछि आएर उक्त कमण्डलु अहिलेको बुडोलको गोसाईकुण्डमा भेटिएको कारण त्यही ठाउँलाई गोसाईकुण्डको सहायक रूपमा लिई मेला भर्ने र स्नान गर्ने गरेको पाइन्छ ।

गाईजात्रा
व्यक्तिको बोल्ने अधिकारलाई व्यङ्ग्यात्मक रूपबाट समाजसम्म दर्साउन पाउने स्वतन्त्र र स्पष्ट पर्व नै गाईजात्रा हो । आफूलाई चित्त नबुझेका कुरा स्पष्ट रूपमा व्यङ्ग्यात्मक अभिव्यक्तिका साथ प्रस्फुटन गराउने कलात्मक र दृष्टात्मक अभिव्यक्ति अर्थात् गाईजात्रा । विशेष गरी काठमाडौँ, भक्तपुर र ललितपुरमा मनाईने यो पर्व काभ्रेका पनि बनेपा, धुलिखेल लगायतका क्षेत्रमा विभिन्न भेषमा मनाइने गरिन्छ । भाद्र कृष्ण प्रतिपदाका दिन विशेष गरी मनाइने यो जात्राको बारेमा बौद्धिक, तान्त्रिक ग्रन्थ ‘कालव्यूह’ का अनुसार यस दिन गौ पूरा गरी गहूँको रोटी र नुन गाईगोरुलाई खान दियो भने मोक्ष प्राप्ति हुने र सबै पाप कर्महरु नाश भई हजारौँ जोगीहरुलाई भोजन गराएको सरह फल प्राप्त हुने जनाइए पनि आजतक यो पर्वमा समयको परिवर्तनसँगै अनेकौँ आयामहर थपिँदै गएको पाइन्छ ।

अन्तत्वगत्वा यस पर्वलाई पितृ मोक्षको रूपमा समेत स्थापित गराईयो । प्रत्यक्ष रूपमा गाई गोरु समावेश गराईने यो पर्वमा अहिले बैकल्पिक रूपमा मानिसहरुद्वारा नै गाईको मुकुण्डो लगाई पशुको प्रतिनिधित्व गर्न चलन रह्यो । हरेक साल भाद्र कृष्ण प्रतिपदाको दिनदेखि आठ दिनसिम्म गाईजात्रा पर्व नेपाल अधिराज्यभर मनाइन्छ । काठमाडौँ उपत्यकामा भने सबैन्दा भव्य रूपमा मनाइन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि प्रारम्भ भई कृष्णअष्टमीको दिन अन्त्य हुने पर्व उपत्यकावासीको सांस्कृतिक पर्व हो । यो पर्व खास गरी देहान्त भएका आफनतको सम्झनामा उनीहरूको सद्गति होस् भनेर घरका सदस्यहरले सम्पन्न गर्ने पर्व हो । मृतकको प्रतिनिधित्व गर्दै नगरको एक निश्चित मार्ग घुमि घाटसम्म पुगेर फर्कन्छन् । यसरी नगर घुम्ने व्यक्तिलाई गाईको प्रतीक बनाएर सिंगारिन्छ । गाईको पहिरनको मुख्य विशेषता कम्मरमा बाँधिने लामो पटुकी पनि हो । जसले भुँइको धुलोलाई लतार्दै हिँड्नुपर्छ ।

गाई घुमाउनुको कारण मृतक व्यक्तिले विघ्नबाधारहित ढङ्गमा स्वर्गमा प्रवेश गर्न पाओस् र स्वर्गको ढोका बन्द रहेछ भने पनि गाईको सिङको सहाराले त्यो द्वार खोलिन्छ भन्ने कथन रहिआएको पाइन्छ । मानिस मरेपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने भएको कारण गाईजात्रा मनाइने गरेको बुढापाकाहरु बताउँछन् । नगरपरिक्रमा गर्ने व्यक्तिका साथमा एउटा गाई वा बाच्छो नभएमा १२-१३ वर्षको बालकलाई गाईको रपमा सिंगारी पेरुङगोको टोपी लगाइन्छ । गाईको चित्रले बनेको मुकुन्डोले ढाकी झल्लरी छाता ओढाएर थरीथरीका मुकुन्डो लगायतका कालो रातो रङले जिउ रङ्ग्याएको थोत्रा, थाङ्ना र कपडा पहिरिएका, ऐनाबिनाको चस्मा लगाएर विचित्र भेषमा, जोगी र अनेक रूपमा देखाएर गाईजात्रे भएको व्यक्तिहरू हिँड्छन् । गाईजात्रा मनाउने चलन मल्लकालमा चलेको हो । काठमाडौँको मल्लराजाको दरबार हनुमानढोका, भक्तपुरको दरबार एरिया, पाटनको कृष्ण मन्दिर अगाडी भेला भएर तोकिएको बाटोबाट लामा लागेर नगरपरिक्रमा गर्न निस्कने पम्परा छ ।यस दिन नाटक, प्रहसन, हास्यव्यङ्ग्य आदि गरिन्छ । देशको राजनीतिक सामाजिक तथा आर्थिक व्यवस्थाहरुमा भएका विकृतिहरुलाई प्यारोडी गीत, नाटक, कार्टुनका माध्यमबाट बङ्ग्याएर जनमानसमा मनोरञ्जन गराइन्छ ।

गाईजात्राको इतिहास
भक्तपुरका तत्कालीन राजा प्रताप मल्लको एउटा बालक छोरा उपत्यकामा फैलिएको महामारी रोग विफरबाट मृत्यु भएको थियो । छोराको निधनले रानी साह्रै शोकाकुल भइन् । आफ्नो छोरा मात्र नमरेको अरूका पनि मरेका छन् भनी राजाले सम्झाउँदा पनि रानीले अलापविलाप गर्न छाडिनन् । त्यसपछि देशभरका जनतालाई आआफ्नो नाममा उनीहरूका आफन्तलाई गाईजात्रा निकाली भक्तवुर दरबार प्राङ्गणमा भेला हुँदै शहरपरिक्रमा गराउने आज्ञा दिए । ठाउँ ठाउँ गाईजात्राका दृश्य देखेपछि जनताका पनि धेरै छोराछोरी मरेका रहेछन्, आफ्नो मात्र मरेको होइन रहेछन् भनेर रानीले चित्त बुझाएपछि त्यस बेलादेखि यो परम्परा चलेको भनिन्छ ।

अतः देशनै गाईजात्रे भने नहोस् व्यङ्ग्य सत्यतामा हिँड्ने मार्ग बनोस् ताकी आईन्दा व्यङ्ग्य गर्ने विकृतिहरुनै नरहुन केवल गाईजात्रा पर्व व्यङ्ग्य गरेर हाँसी खुसी मनाउ, पर्वलाई निरन्तरता दिउँ तर राष्ट्र व्यङ्ग्य नबनोस् ।

नेपाली समाज टेक्सास (NST) को ४ वर्ष पछि साधारण सभा

विकास राज न्यौपाने, टेक्सास -नेपाली समाज टेक्सास (NST) को ४ वर्ष पछि साधारण सभा हुन लागेको छ।  समाजमा साधारण सभाको मांगको आवाज सर्वसाधारण उठिरहेको भए पनि साधारण सभा बस्न सकेको बिधानत् वर्षको एकपटक बस्नु पर्ने हो। हुनत अन्यत्रका नेपाली समाजहरु भन्दा निकै सम्पन्न नेपाली समाज टेक्ससमा धेरै मनकारी मान्छेहरू भएर होला समाजमा गतिविधिहरू निकै गतिशील छन्। 

नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष श्री गौरी राज जोशी को संयोजकत्वमा पूर्व अध्यक्षहरु श्री वैकुण्ठ विक्रम थापा तथा श्री रामचन्द्र पोखरेल सदस्य रहेको ३ सदस्यीय नेपाली समाज टेक्सासको विधान संशोधन कमिटि गठन गरेको जानकारी समाजले गराएको थियो। त्यही विधान लगायतका अन्य गतिविधिहरूमा छलफल हुने कुरा महासचिव द्वारा प्रेषित सार्वजनिक सूचनामा जनाइएको छ।   

नेपाली समाज टेक्सासले विधान संशोधन कमिटिले प्रस्तावित विधान, विभिन्न सङ्घ /संस्थाहरू सहित भई छलफल गरी, कार्यकारणी समिति को बैठकले समेत तयार पारेको सम्पूर्ण सुझाव सहित विधान संशोधन कमिटिमा पठाएर, प्राप्त संशोधन सहितको विधान को प्रस्तावित कपि आफ्नो वेबसाइटमा सार्वजनिक अध्ययनका लागि प्रकाशित गरेको छ। 

नयाँ विधानका नयाँ रुपहरु:
१. प्रत्यक्ष निर्वाचन प्रणाली 
२. उपाध्यक्ष ३ बाट घटाएर १ 
३. विभिन्न क्षेत्र का संयोजकको (युवा/महिला/आइटि) को प्रत्यक्ष निर्वाचन 
४. निर्वाचन कमिटि साधारण सभाले निर्णय गर्ने 
५. साधारण सदस्यता शुल्क साधारण सभाले निर्णय गर्ने 
६. बोर्ड अफ काउन्सिल नरहने 
७. कार्यकारिणी समिति २५ सदिस्यीय बाट घटाएर १५ सदस्यीय  

साधारण सभा मिति: August 23 , आइतबार समय: दिउसो २ बजे, स्थान: NST कार्यालय (2016 W. Grauwyler Rd, Irving, TX 75061) मा हुने जनाईएको छ। 

साली भेना दोहोरी साँझ औपचारिक रूपमा उद्घाटन

नमस्ते चौतारी रेस्टुरेन्ट, न्युयोर्कको प्रस्तुतिमा साली भेना दोहोरी साँझ औपचारिक रूपमा उद्घाटन भएको छ, उक्त रेस्टुरेन्टमा विभिन्न नेपाली, इन्डियन,तिब्बतियन आदि खानाका परिकारका साथै वरिष्ठ गायक यम बराल, बिमल डाँगी, सरिता डाँगी, गीता बिर्लाकोटी र आदित्य लामाको साथमा विभिन्न गीत-गजल-लोकगीतको साङ्गीतिक कार्यक्रम हप्ताको सातै दिनको प्रस्तुतिले सबैको मन जितेको थियो भने अब हरेक सोमबार हुने प्रत्यक्ष दोहोरीका साथमा शुक्रवार, शनिवार आइतबार पनि थपिएको छ ।

कार्यक्रममा प्रमुख अथिति नारायण मैनाली(Consul General, Nepalese Consulate General, New York)ले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्दै अमेरिकामा पनि नेपाली लोक सङ्गीतको प्रचार प्रसार गर्ने हिसाबले सञ्चालन गरिएको सन्दर्भमा सञ्चालकहरू सोमनाथ घिमिरे, प्रेम पौडेल र विवेक पौडेल तथा सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिनुभयो, रेस्टुरेन्टका सञ्चालक सोमनाथ घिमिरेले प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै रेस्टुरेन्टका तर्फबाट स्वागत मन्तव्य दिनुभएको थियो,कार्यक्रममा अतिथिहरु प्रवीण भट्टराई(Deputy Consul, Nepalese Consulate General, New York),कृशु क्षेत्री(Consul, Nepalese Consulate General, New York),शत्रुघन पोख्रेल(2nd Secretary, Nepal Mission to the UN),डेबिड धिलोन(Ex Mayor of El Centro, California) तथा नेपाली अमेरिकन कलाकार सङ्घका उपाध्यक्ष विक्रान्त बस्नेतले सफलताको कामना सहित शुभकामना व्यक्त गर्नु भएको थियो भने, अतिथिहरु नेपाली अमेरिकन कलाकार सङ्घका महासचिव सुमन बुढा मगर, मुस्ताड० समाजका उपाध्यक्ष राजकुमार विष्ट लगायत रहनुभएको थियो । 

कार्यक्रममा कलाकारहरू निर्देशक विजय नकर्मी, निर्देशक प्रसन्न पौडेल, वरिष्ठ फोटो ग्राफर राजीब श्रेष्ठ, गायिका पबिता परियार, नायिका रन्जना शर्मा, मोडल इतना कार्की, नायक पर्शु ढकाल आदिको उपस्थिति थियो, अतिथि कलाकारका रूपमा वरिष्ठ निर्देशक तथा मोडल शङ्कर बिसीलाइ विशेष सम्मान गरिएको थियो भने कलाकारहरू निशा सुनार, बिमल डाँगी, सरिता डाँगी, संगीता थापा मगर, मधुर गिरिका साथमा वरिष्ठ गायक राम श्रेष्ठ र वरिष्ठ बाध्यबादक राज कपुरलाइ प्रमुख अतिथिबाट टिका तथा प्रसाद ग्रहण गराईएको थियो ।
 
कार्यक्रममा संयुक्त राष्ट्र संघकालागी नेपाली राजदूत तथा स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले सफलताको कामना सहित शुभकामना सन्देश पठाउनु भएको थियो, कार्यक्रम सन्चालन लोकगायक बिमल डाँगीले गर्नुभएको थियो ।

न्युह्याम्प्शायरमा बालप्रतिभा प्रतियोगिता

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्प्शायर चयाप्टरले शनिवार अमेरिकाको न्युह्याम्प्शायरमा बालप्रतिभा प्रतियोगिताको आयोजना गरेको छ । चित्रकला, गायन, बाद्यबादन, कविता वाचन, नृत्य, लगायतका विधामा संग्लग्न करिब दुई दर्जन बालबालिकाले प्रतियोगितामा भाग लिएका थिए । बाल दिवसको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा गरिमा गिरीले नृत्य गरेर प्रथम स्थान हासिल गरिन भने नेपाली राष्ट्रिय गानको धुनलाई पियानोमा प्रस्तुत गरेर दोस्रो पुरस्कार जितिन । साहित्यकारद्वय महेश्वर पन्त, दीपा राई पुन र गायक रोशन गुरुङ निर्णायक रहेको समितिले गीत गायन र नृत्य प्रस्तुत गर्ने सारा गुरुङ लाई तृतीय पुरस्कारका लागि छनोट गर्‍यो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव साहित्यकार गोवर्धन पूजाले यस किसिमको कार्यक्रमले विदेशमा रहेन नेपाली बालबालिकाको नेपाली कला, साहित्य र सङ्गीतप्रतिको रुचि विकास गर्न मद्दत गर्ने बताउदै आगामी नारीदिवशको अवसर पारेर अनेसासले नेपाली साहित्य र कलामा लागेका  बालबालिका र महिलालाई पुरस्कृत गर्ने योजना बनाएको जानकारी गराए । 

उपस्थित बालबालिकालाई नेपाली भाषामा आफ्नो परिचय दिन लगाएर पुरस्कृत पनि गरिएको उक्त कार्यक्रममा साहित्यकार तथा आयोजक सस्थाका सचिव ईश्वरी भट्टले यो प्रतियोगितालाई आगामी दिनमा अझ व्यापक गर्ने योजना रहेको बताए । साहित्यकार महेश्वर पन्तले पुरस्कृतहरूको नाम सार्वजनिक गर्दै शुभकामना व्यक्त गरे भने समाज सेवी शिव कुमार राईले कार्यक्रमको उपादेहिता माथि प्रकाश पारे । च्याप्टरका अध्यक्ष अग्नि पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  न्युह्याम्प्शायर नेपाली समाजका अध्यक्ष रविन थापा, धौलाबीर राई, कृष्ण गिरीलगायतले मन्तव्य तथा  कविता वाचन गरे । कार्यक्रममा आभूषण गुरुङ, सब्रिना कडेरिया, अनुशील गुरुङ, अग्रिम गुरुङ, आरजु पराजुली, श्रेया पराजुली, नियन्ता रिमाल, श्रीजल गुरुङ लगायतका भाइ बहिनीले आफ्नो कला प्रस्तुत गरेका थिए । 

बेल्जियममा युरोपस्तरीय क्षेत्रीय साहित्य सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा यूरोपस्तरीय क्षेत्रीय साहित्य सम्मलेन यही अगष्ट १६ र १७, २०१५ मा बेल्जियमको लुभेनमा भव्यरुपमा सम्पन्न भएको छ । नेपाल सङ्गीत, नाट्य तथा तथा कला प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा दिप प्रज्वल्लन गरी सुरु भएको यस कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, मधुपर्कका सम्पादक एंव सहित्यकार श्रीओम श्रेष्ठ रोदन, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने, अनेसासका संस्थापक होमनाथ सुवेदी, केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, केन्द्रीय उपाध्यक्ष सुमल कुमार गुरुङ, साहित्यकारहरु एलबी क्षेत्री, रमेश अधिकारी, अनेसास बेल्जियमका संस्थापक अध्यक्ष कृष्ण बजगाई, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ तथा अन्य महानुभाबहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा कुलपति सरुभक्त श्रेष्ठ, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, साहित्यकार श्री ओम रोदन श्रेष्ठ, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछानेले शुभकामना मन्तव्य राख्नु हुँदै नेपाली साहित्यको चर्चा गर्नु भएको थियो अनेसासका संस्थापक होमनाथ सुवेदीले नेपाली डायस्पोरिक साहित्यको बारेमा चर्चा गर्नु भएको थियो । यसै गरी केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना, यसको गतिविधि, नेपाली साहित्यको बिश्वब्यापीकरण अभियानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको योगदानका विषयमा चर्चा गर्नु भएको थियो ।  

सो अवसरमा बेल्जियम, नेपाल तथा युरोपका अन्य देशहरुबाट पाल्नुभएका साहित्यकारहरुले आआफ्नो श्रृजनात्मक रचना प्रस्तुत गरेका थिए भने अनेसास बेल्जियमका अध्यक्ष दिपेन्द्र के.सी.को खण्डकाव्य “अनुभूतिका अक्षरहरु”, स्रष्टा बिमल गिरीको मुक्तक सङ्ग्रह ”स्पन्दनका छालहरू” तथा स्रष्टा सौरभ कारंजितका ”छरिएका सौरभ ” नामक मुक्तक सङ्ग्रहको बिमोचन भएको थियो । कार्यक्रमको सन्चालन अनेसास बेल्जियमका महासचिव दीपकज्योति पौडेलले गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको पहलमा साथै एनआरएनए बेल्जियम, साँग्रिला समाज लुभेन, ईन्द्रधनुष क्लब लुभेन, हिमालयन सोसाइटी सिन्त्रोदेन र नेपाली समुदाय परिवार गेन्ट सहआयोजनामा यूरोपस्तरीय क्षेत्रीय साहित्य सम्मेलन सम्पन्न भएको हो । यस सम्मेलनमा देशविदेशबाट नेपाली सर्जकहरु निमन्त्रणामा आएका थिए । आसन ग्रहण पश्चात् अविरल चलेको यस कार्यक्रमको प्रथम दिनमा बेल्जियमका नेपालीहरूको बाक्लो सहभागिता रहेको थियो । प्रथम दिनको कार्यक्रममा कविता, गीत तथा मुक्तक वाचनको क्रममा सर्जकहरुलाई तथा कार्यक्रम प्रायोजकहरुलाई सम्मान स्वरूप कदरपत्र वितरण गरिएको थियो ।

     कार्यक्रमको दोस्रो दिन विभिन्न विषयमा विभिन्न महानुभाबहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र र आफ्ना धारणा प्रकट गर्नुहुनेहरुमा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, साहित्यकार श्री ओम रोदन श्रेष्ठ, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने, कृष्ण बजगाई, पंचम अधिकारी, मोहन आचार्य जलाद, होमनाथ सुवेदी, पदम विश्वकर्मा, सुमल कुमार गुरुगं, एलबी क्षेत्री हुनुहुन्थ्यो । कार्यक्रमको अवसरमा अनेसासका उपाध्यक्ष सुमल कुमार गुरुंगको संयोजकत्वमा बिमल गिरी, दिपेन्द्र केसी, सूर्य गिरी, डा. रुपक श्रेष्ठ, कृष्ण क्षेत्री, सुनिल संगम, हरि पौडेल, मोहन आचार्य जलाद, खड्का न्यौपाने, गुणराज पौडेल, बाबुराम भुषाल रहनु भएको छ । उक्त समितिले हरेक दुई वर्षमा क्रमशः क्षेत्रीय साहित्य सम्मेलनको आयोजना गर्ने, यूरोपमा नेपाली साहित्य अभिवृद्धि गर्ने र उक्त क्षेत्रहरूमा च्याप्टर विस्तार गर्ने कार्य गर्ने छ । यसै गरी सम्मेलनका अवसरमा सम्मेलन ६ बुँदे घोषणा पत्र जारी गरिएको थियो, जुन यसप्रकार छन् :

१)     नेपाली भाषा-साहित्यको स्तरिकरण र एकरूपताको पहल गर्ने
२)     राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत कृतिहरूको अनुवाद र प्रकाशन गर्ने
३)     डायस्पोरिक साहित्यको मानक परिभाषा गर्ने
४)     साइबर साहित्यबाट प्रचार-प्रसार गर्ने
५)     डायस्पोरिक साहित्यको अभिलेखीकरण गर्ने र
६)     डायस्पोरिक कृतिहरूको नेपालमा मूल्याङ्कन नभइरहेको अवस्थामा त्यसका लागि पहल गरिने ।

मनकारी छिरिङ्, जो समाज सेवालाई आफ्नो कर्तव्य र धर्म ठान्नुहुन्छ

काठमाडौँ । सोलुखुम्बुमा जन्मनुभएका छिरिङ् शेर्पा यतिबेला अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । उहाँ त्यहाँको सफल व्यवसायी त हुनुहुन्छ नै सँगै खुल्ला दिन भएका प्रथम कोटीका समाजसेवी पनि । वैशाख १२ गते गएको महाभूकम्पले सिङ्गो मुलुक र मुलुकबासी रोइरहेका बेला अमेरिकामा रहेका यी नेपाली छोराको मन किन मान्थ्यो र  ? त्यसैले उहाँ पनि धुरुधुरु रोयो ।

महाभूकम्प गएलगत्तै उहाँले नेपालमा रहेका आफ्ना आफन्त, घरपरिवार, साथीभाई, इष्टमित्र अनि हिमालदेखि तराईसम्ममा नेपाली बुबाआमा दाजुभाइ दिदीबहिनीलाई सम्झनुभयो । समाजसेवी न पर्नुभयो, रोएर कमजोर भएर चुपलागेर बस्न सक्ने त कुरै आएन । सिङ्गो राष्ट्रलाई परेको शोकलाई शक्तिमा बदल्ने अठोट लिएर उहाँ अघि बढ्नुभयो । अनि उहाँले आफू आबद्ध भएको हिमालयन शेर्पा क्लब सोनोमो, शेर्पा एसोसियसनलगायतका संस्था र केही मनकारीहरुसँग नेपाल र नेपालीको पीडामा मल्हम लगाउने विषयमा कुरा राख्नुभयो ।

तत्काल हिमालयन शेर्पा क्लब सोनोमोका तर्फबाट नेपालका भूकम्पपीडितको उद्धार तथा राहतका लागि १ लाख ४० हजार रुपैयाँ प्राप्त भयो । यस्तै शेर्पा एसोसिएनि अफ क्यालिफोर्नियाबाट ६० लाख नेपाली रुपैयाँ प्राप्त भयो । सँगै हिमालयन शेर्पा किचेन (जुन समाजसेवी छिरिङ्गकै रेस्टुरेन्ट हो) त्यहाँबाट उहाँले ८ लाख रुपैयाँ जम्मा गर्नुभयो अनि न्यु योर्क लङ् आइसल्याण्ड बस्ने सुनिता र उहाँको परिवारका तर्फबाट २ लाख रुपैयाँ सहित उठेको सबै रकम भूकम्पपीडितकै उद्धार र राहतका लागि खर्च भयो । भूकम्पको पीडामा छट्पटिइरहेका नेपालीहरूको पीडामा महल्ह लगाउन उहाँले नेपालमा पाइला टेक्नेवित्तिकै सुरु गरिहाल्नुभयो । २५ लाख रुपैयाँ उहाँले आफ्नै हातले बाँड्नुभयो ।  

भूकम्पपछिको दौरानमा उहाँले ताप्लेजुङ्ग, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, रसुवा, मनाङ्ग, मुस्ताङ, दोलखालगायतका जिल्लाका भूकम्पपीडितहरुको ध्वस्त गाउँ बस्तीमा पुगेर विभिन्न खाले राहत सामग्री वितरण गर्नुभयो । भूकम्प गएको ५ महिना वितिसक्दा पनि छिरिङ्ग थाक्नुभएको छैन । उहाँले भदौको पहिलो साता पनि राजधानी काठमाडौँका विभिन्न वृद्धाश्रम, अनाथ आश्रम, नुवाकोटको यशोदादेवी भगवान्सिंह मेमोरिएयल ट्रस्ट र उत्तरी धादिङ्गका भूकम्पपीडितलाई ५ लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गरेर आफूलाई उत्कृष्ट समाजसेवीको रूपमा परिचित गराईसक्नुभएको छ ।

आफ्ना छोराछोरी र घर परिवारबाट बृद्धाश्रममा पु-याइएका राजधानीको चलपीका करिब २५ जना बृद्धबृद्धालाई उहाँले आफ्ने हातले खाना खुवाउनुभयो, जतिबेला उमेरले ७० काटेका वयोवृद्ध आमाहरू उहाँको टाउकोमा हात राखेर उहाँलाई आर्शिवाद दिइरहनुभएको देखिन्थयो । यतिमात्र होइन, राजधानीको नयाँबजार छेउमा रहेका करिब ३ सय जना  अनाथ बालबालिकालाई उहाँले गराउनुभयो । उहाँको त्यो समाजेवालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले पनि राम्रैसँगै समेट्न भ्याए ।

छिरिङ्ग हेर्दा जति सरल र भलाद्मी देखिनुहुन्छ उहाँको व्यवहार त्यो भन्दा पनि सरल र सहज छ । सँधै हँसिलो र उज्यालो अनुहारमा देखिने छिरिङ्गजस्ता निष्कलङ्क र निष्कपट समाजसेवी यतिबेला सिङ्गो नेपाल र नेपालीले खोजी गरिरहेका छन् । भूकम्पपीडितका लागि प्राप्त आर्थिक तथा अन्य भौतिक सामग्रीमा चरम भ्रष्टाचार भै रहेको खबर सार्वजनिक हुँदा एकजना समाजसेवी शेर्पाको यो समाजसेवाको बहुआयाम ती भ्रष्टहरुको लागि गतिलो पाठ बनेको छ । त्यसैले नाममात्रको समाजसेवी होइन कर्मले नै समाजसेवी बन्ने कोसिसमा लाग्ने हो भने छिरिङ्ग शेर्पाको पथलाई पछ्याउनुको विकल्प देखिन्छ ।

सृजना चौतारीले आफ्नो प्रथम साहित्यिक /साङ्गीतिक कार्यक्रम उत्साहपुर्वक सम्पन्न

दमक, भर्खर मात्र सुचारु भएको साहित्यिक/ साङ्गीतिक भेटघाट गर्ने "सृजना चौतारीले" आफ्नो प्रथम कार्यक्रम दमक १३ स्थित सृजना रेष्टुरेन्टमा हिजो शनिवार दिनको ३ बजेदेखि ५ बजेसम्म भव्यताको साथ सम्पन्न गर्‍यो |कार्यक्रमको प्रथम सुरुवातमै सञ्चालन गरिएको उक्त कार्यक्रममा युवा जमातको भेला राम्रै रहेको थियो | खचाखच भींडमापनि दर्शक दिर्घाहरुले रचनाहरू बडो उत्साह पूर्वक श्रवण गरेको देखियो | उक्त कायकमको सभापतित्व लोकप्रिय गायक एल पी जोशीज्युले गर्नु भएको थियो भने आचार्य प्रभाले खादा ओढाई वहाको सम्मान गर्नु भएको थियो |उक्त कार्यक्रमको प्रथम चरणमा युवा गायकद्वय घनश्याम मैनाली र आईन्द्र लिम्बुले बडो जोसका साथ राष्ट्रिय गीत "जाग लम्क चम्क हे नौजवान हो " गाएर कार्यक्रमको माहौललाई अझ उत्साहपूर्ण बनाएका थिए | कार्यक्रम सञ्चालन जी पी तिवारीले गर्नु भएको थियो भने धन्कुटे कान्छाले धन्यवाद ज्ञापन गर्दै दुई शब्द बोल्नु भएको थियो |

उक्त कार्यक्रमको उदेश्य युवाहरू ज-जसमा प्रतिभाहरु छन् ती प्रतिभाहरु सुन्ने सुनाउने र सृजना चौतारी भनेको प्रतिभावान अनि लेखकीय मनहरुको प्रतिभा बिसाउने चौतारी मात्र हो | यो न संस्था हो न कुनै व्यक्तिको व्यक्तिगत सम्पति हो | यहाँ जो पनि अँटाउन सक्छन् र आफ्ना प्रतिभा प्रष्फुटन गर्न सक्छन्| यसैलेपनि हिजोको भेलामा दमकदेखि अन्य ठाउँसम्मका युवाहरू र दमककै पुराना अग्रजहरुको पनि उपस्थिति रहेको थियो | फेसबुक मार्फत निमन्त्रणा गरेर नै पहिलो पटक नै त्यतिका जमात भेला हुनु भनेको सृजना चौतारीको सकारात्मक पक्ष थियो | दमक पब्लिक लाईब्रेरीका औसत युवाहरूको उपस्थितीलेपनि सो कार्यक्रममा रौनकता बढाएको थियो अन्य उपस्स्थितिमा घनश्याम पथिक,कल्पना आचार्य,कुशल चम्लागाईं,दुखी पामदा,ईशु बराल,जयन्ति भण्डारी,कुमारी थेगिम ,आंचल भण्डारी,सावित्रा  तिवारी,मिना  हुनुहुन्थ्यो भने प्रकाश बुढाथोकीले यस कार्यक्रम बारे छोटो मन्तव्य प्रकाश पार्नु भएको थियो|
     
कार्यक्रममा आफना रचनाहरू वाचन गर्नु हुनेहरुमा रहस्य विक्रम,दधिराम ढकाल,भिजन गुरागाईं,सुमन लिन्ग्देन,आकाश लिम्बु,रोदन सन्तोष निरौला,विवश घिमिरे "डण्डी",बिन्दु दाहाल "मुक दर्शक"सुन्दर "कुरूप" विवश बलिभद्र, आचार्य प्रभा, केशव आचार्य, युवराज दाहाल,रमेश थापा मगर,कृष्ण उदासी,याम थुलुंग, ईन्दु ढकाल, दिलीप मैनाली हुनुहुन्थ्यो भने कार्यक्रममा योगा प्रशिक्षक गङ्गा ढकालले पनि आफ्नो मन्तव्य दिनुभएको थियो| कार्यक्रमको अन्त्यमा सभापतित्व ग्रहण गर्नुहुने एल पी जोशीले सृजना चौतारीलाई धन्यवाद ज्ञापन गर्दै यो कार्यक्रमले अझ तीव्र गति लिओस् भन्दै कार्यक्रमको समापन गर्नु भएकोथियो | कार्यक्रमको अन्त्यमा चिया बिस्कुटकोपनि बन्दोबस्त गरिएको थियो | यसरी दमकमा साहित्यिक माहौल फेरि जुर्मुराउने लक्ष देखिको अन्य जानिफकारहरुले बताउनु भयो |

राजेश्वरको भौतिक चोलाले बिसायो भारी

प्रकाश सिलवाल, काठमाडौँ, २५ साउन । ‘भरियाले बिसायो भारी, भञ्ज्याङको पिपलु छायाँमा...’ बोलका रचनाकार वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको भौतिक शरीरले आज भारी बिसाएको छ ।

विसं २००७ मा जनकवि केशरी धर्मराज थापाले देवकोटाको त्यही गीत रेडियो नेपालमा रेकर्ड गराएर आफ्नो गायनयात्रा प्रारम्भ गर्नुभएको थियो । अहिलेका पुस्ताले त्यसबेलाका रचना र देवकोटाका ‘जयतु संस्कृतम् आन्दोलन’ देखिको योगदानबारे अनुभव गर्न नपाए पनि इतिहासमा उहाँको व्यक्तित्व लिपिबद्ध भइसकेको छ ।

देवकोटाले विसं २००४ मा दार्जिलिङबाट प्रकाशित हुने ‘भारती’ मा कविता छपाएर साहित्यमा प्रवेश गरेको पाइन्छ । उहाँका नेपाली व्याकरण (व्याकरण, विसं २०१८), युगल काव्य (हास्यव्यङ्ग्य, विसं २०३९), आवर्तन (उपन्यास, विसं २०४१), द्वन्द्वको अवसान (उपन्यास, विसं २०४२), पूर्वकथा (उपन्यास, विसं २०४३), उत्सर्ग प्रेम (उपन्यास, विसं २०४४), एक राष्ट्रिय प्रस्ताव (राजनीति, विसं २०४८), उदारवाद (राजनीति, विसं २०४८), पूर्णिमा (उपन्यास, विसं २०५४), वैध क्रान्ति (राजनीति, विसं २०५५), डबली (उपन्यास, विसं २०५९), पाँच कथा (कथा, विसं २०६७), महाराजको भूत (उपन्यास, विसं २०६८), स्वन (कविता, विसं २०६८), माया (स्मृतिग्रन्थ, विसं २०६८) लगायत पुस्तक प्रकाशित छन् ।

छयासी वर्षको उमेरमा देवकोटाको आज बिहान निधन भएको छ । विसं २००७ को जयतु संस्कृतम् आन्दोलनका एक अगुवा देवकोटा राष्ट्रिय पञ्चायतका अध्यक्ष र मन्त्रीसमेत हुनुभएको थियो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, राष्ट्रवादी अभियानका संयोजक हुनुहुन्थ्यो । साहित्यिक आख्यान लेखनमा पनि स्थापित देवकोटाले ‘उत्सर्ग प्रेम’ उपन्यासका लागि २०४४ सालमा मदन पुरस्कार पाउनुभएको थियो ।
यस्तै, साझा पुरस्कार, वेदनिधि, भानुजस्ता पुरस्कार पनि उहाँले पाइसक्नुभएको थियो । उहाँको जन्म विसं १९८६ को असोज २३ गते गोरखाको पण्डित गाउँ, लिगलिगमा पिता हरिभक्त र माता बसुन्धरा देवकोटाका पुत्रका रूपमा भएको थियो । विसं २००४ को जयतु संस्कृतम् आन्दोलनमा अगुवा भएपछि देश निकाला खेप्नुभएका उहाँ राजनीतिमा प्रवेश गर्नुभयो ।

राजनीति र साहित्यमा एकसाथ आफूलाई निरन्तर उभ्याउनुभएका देवकोटालाई पछिल्लो समयमा मूलतः साहित्यिक र राष्ट्रवादी अभियानमा सक्रिय हुनुहुन्थ्यो । राजनीतिमा लामो समय पञ्चायतको नजिकमा रहेर काम गरे पनि लोकतान्त्रिक आन्दोलनमा लागेका नेता तथा स्रष्टाले पनि उहाँको साहित्यिक व्यक्तित्वलाई सम्मानका साथ लिने गरेको पाइयो । राजनीतिज्ञ तथा साहित्यकार प्रदीप नेपाल देवकोटालाई आफूले एक प्रकारको गुरु मान्दै आएको बताउनुहुन्छ । ‘भरियाले बिसायो भारी, भञ्ज्याङैको पिपलु छायाँमा...’ गीत कक्षा पाँचमै पढेको र अहिले पनि मुखाग्र सम्झना हुने गरेको स्मरण गर्दै उहाँले आफूले एक दशकअघि सो गीतको सन्दर्भसहित लेख लेखेपछि देवकोटासँग नजिकको सम्पर्क भएको बताउनुभयो । पाँच कक्षामा पढ्दा त्यो गीत कसले लेखेको थाहा नपाए पनि पछि देवकोटा स्वयम्ले आफूलाई त्यसबारे जानकारी गराएपछि उहाँप्रति सम्मानभाव पैदा भएको प्रतिक्रिया दिनुभयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती देवकोटाले वरिष्ठतम् राजनीतिज्ञ, बुद्धिजीवी र साहित्यिक क्षेत्रका आख्यान विधालाई महत्वपूर्ण योगदान दिएको बताउनुहुन्छ । “देवकोटाले राजनीति र लेखनीमा राष्ट्रिय स्वार्थका विषयमा कहिले पनि सम्झौता गर्नुभएन,” उप्रेतीले भन्नुभयो – “देवकोटाको पछिल्लो उपन्यास ‘विश्वास’ केही महिनाअघि प्रज्ञाप्रतिष्ठानको हलमा कुलपति उप्रेतीबाटै लोकार्पण भएको थियो ।
समालोचक डा मोहनहिमांशु थापा साहित्यमा विशेष गरी निबन्ध र हास्यव्यङ्य हुँदै पछि उपन्यासमा प्रविष्ट भएको र उपन्यासमा नयाँ सोच तथा धारणासहित देवकोटा आएको बताउनुभयो । थापाले भन्नुभयो – “राजनीतिमा लागेको मानिसले साहित्यिक सिर्जना गर्नु ठुलो गौरवको विषय हो । त्यसमा पनि राजनीति र साहित्यमा राष्ट्रवादी धारलाई निरन्तर कायम राख्न सक्नु सकारात्मक पक्ष हो ।”

राजनीतिक सन्दर्भमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदा पनि हास्यरस पस्कने देवकोटाले २०५६ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको प्रस्ताव सर्वोच्च अदातलले खारेज गरेको फैसलाबारे उहाँको कटाक्ष थियो, “सर्वाेच्चमा गोरु ब्यायो ।” रासस

छोरीको जन्मदिनमा आमाको उपन्यास विमोचित

काठमाडौँ । उपन्यासकार हेमा रिजालको नवीनतम् उपन्यास ‘आमाको पुरानो डायरी’ विमोचन भएको छ । उक्त कृतिको रिजालकी सुपुत्री द्वय पूजा अधिकारी र प्रभा अधिकारीले विमोचन गरेका थिए । विमोचित कृतिमाथि निबन्धकार युवराज नयाँघरेले समीक्षा गरेका थिए । नयाँघरेले भने– ‘महिला हिंसाको बारेमा यो उपन्यास मार्फत् सशक्तसँग आफ्ना विचारहरू यहाँ उठाएकी छन् उपन्यासकारले । सरल र प्रभावकारी नमुनाको रूपमा यो उपन्यास आएको छ ।

समालोचक महेश पौडेलले भने– ‘डायरी लेखनको उच्चतम् भावनालाई अंगीकार गरेको यो औपन्यासिक कृतिले नेपाली सामाजिक संसारलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । कवि तथा समीक्षक यादव भट्टराईले उपन्यासको लेखनी, कलाबाट आपूm प्रभावित भएको बताए । उनले भने– ‘आमाको पुरानो डायरीमा आम महिलाका पीडा र वैदेशिक अनुभवको कलात्मक लेखनी भेट्न सकिन्छ । यसै गरी बाल साहित्यकार तथा पत्रकार कार्तिकेय घिमिरेले उपन्यासको रचनाकारिता निकै लोभलाग्दो बताए । उनले चर्चा गर्दै भने– ‘अत्यन्तै मिठास लेखनीका कारण यो उपन्यासले समाजमा गहिरो प्रभाव पार्नेछ । उपन्यासकी प्रकाशिका प्रभा अधिकारीको जन्म दिनको दिनमा यो उपन्यास विमोचित भएको छ । आगामी दिनमा यस्तै रचनात्मक काम गरी आफ्नो जन्म दिन मनाउने प्रभाले आफ्नो मन्तव्यमा बताएकी थिइन् ।